


सांसद राजेन्द्र बजगाईंको पाँचतारे होटल वर्णबासले गर्यो ११ महिनामा साढे १ करोडको व्यापार




काठमाडौं । कांग्रेसका सांसद राजेन्द्र बजगाईंको पाँचतारे होटल वर्णवास म्युजियम कम्पनीले गत आवको ११ महिनामा १ करोड ७० लाख रुपैयाँको ब्यापार गरेको छ । आईपीओ जारी गर्ने तयारीमा रहेको होटलको व्यापार सन् २०२४ को तुलनामा बढेको छ । सन् २०२४ मा यस होटलले ९० लाख रुपैयाँमात्र व्यापार गरेको थियो ।
यो होटल काठमाडौंको बालुवाटारमा अवस्थित छ। यो कम्पनी सन् २०१८ नोभेम्बर २७ मा निजी लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो । पछि सन् २०२४ अगस्ट १३ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। होटलमा कुल ४८ वटा कोठाहरू छन् । होटल पूर्णरुपमा सञ्चालन सन् २०२४ फेब्रुअरीदेखि सुरु भएको हो।
गत आर्थिक वर्षमा होटलले सेयर जारी गर्ने (आइपीओ) प्रस्ताव प्रथम वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ। नक्साल र बालुवाटारको बीचमा संग्रहालयसहितको यस पाँचतारे बुटिक होटलमा तीन स्वीमिङ पुल रहेको छ। साढे नौ तलाको होटल तीन तहमा विभाजित छ।
ती तहले नेपालको हिमाल, पहाड र तराई क्षेत्र झल्काउँछ। तीनै तहमा मुल आदिवासी समुदायका भेषभूषा, रहनसहन र संस्कृति झल्काउने गरी डिजाइन गरिएको छ। यस होटलको प्रत्येक कोठालाई हिमाल, पहाड र तराईका गाउँका नामबाट चिनाइएको छ। यस होटलको कुल लगानी एक अर्ब १६ करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ।