

१ वर्षमा ३ करोड मूल्य बराबरको लागुऔषध बरामद




महोत्तरी । यहाँको बर्दिवासस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखाले गत आर्थिक वर्षमा करिब ३ करोड मूल्य बराबरको लागुऔषध बरामद गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा सो रकम बराबरको विभिन्न लागुऔषध बरामद गरिएको ब्युरोले जनाएको हो । यस क्रममा ५५ जना पक्राउ परेको र लागुऔषध ओसरपसारमा प्रयोग गरिएका विभिन्न १६ सवारीसाधन नियन्त्रणमा लिइएको ब्युरो प्रमुख प्रहरी नायब निरीक्षक सरोज अधिकारीले जानकारी दिए ।
यस अवधिमा सबैभन्दा बढी परिमाणमा गाँजा १५.१४ क्वीन्टल बरामद भएको छ । गाँजा बरामदका क्रममा छ जना पक्राउ परेको र ओसारपसारमा प्रयोग भएका तीन थान मिनिट्रक तथा तीन थान जीप नियन्त्रणमा लिइएको छ । बरामद गाँजाको अनुमानित मूल्य एक करोड ९९ लाख रूपैयाँ छ ।
यसैगरी सो अवधिमा ‘इनफ्रेडिन’ नामक लागुऔषध ८५४ ग्राम बरामद भएको छ । यो बरामदीसँगै तीन महिला र दुई पुरुष गरी पाँच जना पक्राउ परेका छन् । यो लागुऔषधको अनुमानित मूल्य ६८ लाख ३२ हजार रूपैयाँ हुने ब्युरोले जनाएको छ।
गत आवमा खैरो हेरोइन लागुऔषध ५४९.८५ ग्राम बरामद गरिएको छ । हेराइन ओसारपसारमा संलग्न तीन महिलासहित ३९ जना पक्राउ परेका छन् । जसमा दुई जना विदेशी नागरिक छन् । हेरोइन लागुऔषध ओसारपसार गर्न प्रयोग गरिएका चार थान मोटरसाइकल र दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिइएका छन् । यसको अनुमानित मूल्य ४६ लाख ७३ हजार रुपैयाँ बराबर छ ।
लागुऔषधिजन्य एम्पुल तीन हजार १४४ बरामद गरिएका छन् । एम्पुलसँगै दुई जना पक्राउ गरिएका छन् भने दुई थान मोटरसाइकल नियन्त्रणमा लिइएको छ । यी एम्पुलको अनुमानित मूल्य १२ लाख ८० हजार हुने प्रनानि अधिकारीको भनाइ छ ।
सो अवधिमै कोडिन मिश्रित लागुऔषध सिरफ ३६४ बोतल बरामद गरिएको ब्युरोले जनाएको छ । यसक्रममा तीन जना पक्राउ परेका छन् । यो लागुऔषध ओसारपसार गर्न प्रयोग गरिएका दुई थान मोटरसाइकल नियन्त्रणमा लिइएका छन् । यसको अनुमानित मूल्य दुई लाख ७३ हजार रुपैयाँ हुने जनाइएको छ ।
गत आवमा कूल दुई करोड ९९ लाख ५८ हजार रुपैयाँ बराबरको लागुऔषध बरामद गरिएको ब्युरोले जनाएको छ । ब्युरोले महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीसहितका जिल्लामा गरेको जाँचका क्रममा उक्त परिमाणमा लागुऔषध बरामद गरेको हो ।