विश्व इतिहासमा विचित्रको अमेरिकी चुनाव:जान्नुस् यस्ता छन् रहस्य
काठमाडौँ । अहिले विश्वभर अमेरिकी राष्ट्रपति चुनावको ठूलो चर्चा भइरहेको छ । विश्वकै शक्तशाली देश भएकाले पनि अमेरिकी चुनावको चर्चा बढी हुनेगर्छ । आज हामीले अमेरिकी चुनावसँग जोडिएका तर कम चर्चा हुने विषयको बारेमा खोजी गरेका छौँ ।
लीप इयरमा हुनेगर्छ अमेरिकी राष्ट्रपतिको चुनाव
अमेरिकाको चुनाव प्रत्येक लीप इयरमा हुनेगर्छ । लीप इयर भन्नाले त्यस्तो वर्ष हो जहाँ चुनाव हुने वर्षलाई ४ ले भाग गर्दा कुनै शेष आउँदैन । जस्तै, सन् २०२४, २०२० होस् वा आगामी चुनाव वर्ष २०२८ ।
नोभेम्बर महिनाको पहिलो सोमबार पछिको मङ्गलबार हुन्छ चुनाव
अमेरिका बाहेक विश्वमा कुनै पनि देशमा चुनावको निश्चित दिन तोकिएको छैन । अमेरिका मात्रै एउटा यस्तो देश हो जहाँ सधैँ एउटै निश्चित तालिका अनुसार चुनाव हुनेगर्छ । त्यस्तो तालिका त्यहाँको संविधानले नै तोकेको राजनीतिशास्त्रीहरू बताउँछन् । सोही कारण प्रत्येक चार वर्षमा अमेरिकाले राष्ट्रपतिको चुनाव गर्दा एउटा यस्तो रहस्यमय मिति तय गरेको छ । जहिले पनि राष्ट्रपतिको चुनाव नोभेम्बर महिनाको पहिलो सोमबार लगत्तै आउने मङ्गलबार नै हुन्छ । भनाईको मतलब यदि नोभेम्बर एक तारिखमा मङ्गलबार परेको छ भने त्यो मङ्गलबार राष्ट्रपतिको चुनाव हुँदैन । अर्को आउँदो मङ्गलबारसम्म चुनावको लागि कुर्नुपर्छ । तर, यदि नोभेम्बर एक तारिकमा सोमबार परेको छ भने २ तारिकको दिन, मङ्गलबार नै चुनाव हुनेगर्छ । विश्वका अरू कुनै पनि देशले चुनाव यो मितिमा गर्ने भन्ने (प्रि–डिटरमाइन्ड सेडुअल) तयार नगरेको राजनीतिशास्त्रीहरू बताउँछन् ।
अमेरिकी राष्ट्रपति प्रत्यक्ष निर्वाचित होइनन्
प्रत्यक्ष राष्ट्रपति निर्वाचनको कुरा गर्दा धेरै ठाउँमा अमेरिकी राष्ट्रपतिको चुनावलाई नै उदाहरणको रूपमा लिने गरिन्छ । तर, अमेरिकी राष्ट्रपति प्रत्यक्ष निर्वाचित होइनन् । त्यहाँ यस्तो प्रणाली बनाइएको छ (काउण्टी) भनिने स्थानीय तहदेखि महानगर, जिल्ला, राज्य हुँदै माथिल्लो तहसम्म पुगेका प्रतिनिधिले मात्रै राष्ट्रपति छान्ने मौका पाउँछन् ।
राष्ट्रपतिको निर्वाचन गर्ने त्यस्ता प्रतिनिधि माथिल्लो सदन सेनिट वा तल्लो सदन प्रतिनिधि सभाका सदस्य होइनन् । चुनावमा उपयुक्त राष्ट्रपति छान्न आआफ्नो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि मात्र हुन् यिनीहरू । यी निर्वाचित समूहलाई निर्वाचक मण्डल भन्ने गरिन्छ । त्यस्ता प्रतिनिधिहरुले अमेरिकाको राष्ट्रपति छान्छन् ।
राष्ट्रपति छान्ने यी निर्वाचकहरूको संख्या पाँच सय ३८ जना हुन्छ । अस्ति त्यही पाँच सय ३८ जनाको निर्वाचन भएको हो । निर्वाचक मण्डलका कूल ५३८ मध्ये कम्तिमा २७० मत प्राप्त गर्ने उम्मेद्वार मात्र राष्ट्रपति निर्वाचित हुन्छ । यस वर्ष नोभेम्बर ०५ तारिखमा परेको मङ्गलबारको चुनावमा रिपब्लीकन पार्टीले बहमत ल्याएर बिजयी भयो । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेद्वार डोनाल्ड ट्रम्प ठूलै बाजी मार्न सफल भए।
कसरी आउँछन् ५३८ निर्वाचक मण्डल सदस्य
हामीलाई पाँच सय ३८ जनाको निर्वाचक मण्डलले राष्ट्रपति निर्वाचन गर्छन् भन्ने थाहा भयो । तर, ती पाँच सय ३८ जना कहाँबाट आउँछन् ? भन्ने विषय चासोको विषय बन्ने गरेको छ । अझ राजनीतिशास्त्र वा यसमा रूची राख्नेहरूका लागि यो निकै रूचीको विषय हुने छ ।
अमेरिकामा संसदलाई कंग्रेस भनिन्छ । जब कि नेपाल र भारतमा कंग्रेस नामकै पार्टी रहेकाले पार्टी विशेष बुझाई रहने गर्छ । कंग्रेसको अर्थ भेला भन्ने पनि लाग्छ । अमेरिकाको संसद (कंग्रेस) मा या भनौँ व्यवस्थापिकाको माथिल्लो सदन सेनिटमा एक सय जना सदस्य हुन्छन् । तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा ४३५ सदस्य हुन्छन् ।
माथिल्लो सदन सेनिट
माथिल्लो सदन सेनिटमा पचास वटा (स्टेट) भनिने प्रान्त प्रत्येकबाट दुई जनाका दरले जम्मा १०० जना प्रत्यक्ष निर्वाचित भएर आएका सेनिटर हुने गर्छन् । त्यसरी निर्वाचित भएका माथिल्लो सदनका सदस्यहरूको पदावधि ६ वर्ष तोकिएको हुन्छ । माथिल्लो सदनका लागि जनसंख्यालाई कुनै पनि आधार नबनाइकन प्रत्येक राज्यबाट बराबर दुई जनाको प्रतिनिधित्व हुन्छ । मानौ अलास्कामा जति जनसंख्या भए पनि २ जनाको लागि चुनाव हुन्छ, क्यालिफोर्नियामा जति करोड जनसंख्या भए पनि जम्मा २ जनाकै लागि चुनाव हुन्छ । त्यसरी जितेका प्रतिनिधिहरूले माथिल्लो सदनमा जान्छन् ।
तल्लो सदन प्रतिनिधि सभा
तल्लो सदनको विशेषता भने माथिल्लो सदनको तुलनामा फरक छ । तल्लो सदनमा चार सय ३५ जना निर्वाचित हुन्छन् । त्यसरी निर्वाचित हुने तल्लो सदनका प्रतिनिधीहरू भने जनसंख्याको आधारमा तोकिएको निर्वाचन क्षेत्रबाट निर्वाचित हुन्छन् । जस्तै कुनै प्रान्तबाट एक जना मात्रै तल्लो सदनमा आउँछन् भने कुनै प्रान्तबाट पचास जना पनि आउँछन् ।
निर्वाचक मण्डल
नेपाललाई नै उदाहरणको रूपमा हेर्ने हो भने रोल्पा र काठमाडौँको निर्वाचन क्षेत्र संख्या फरक छ । यहाँका जनसंख्यामा पनि भिन्नता छ । यसको मतलब मुगुमा एउटा मात्रै निर्वाचन क्षेत्र राख्दा पुग्न सक्ला जनसंख्याको आधारमा भने काठमाडौंमा १२, १५ वटा पनि चाहिएला । सोही आधारमा जनसंख्या अनुसार अमेरिकामा जनसंख्याको आधारमा छुट्याइएको आधारमा तल्लो सदनमा जाने प्रनितिधिको संख्या तोकिएको हुन्छ । सिंगो अलस्का राज्यबाट जम्मा एक जना प्रतिनिधिले मात्र प्रतिनिधित्व गर्छन् भने क्यालिफोर्नियाबाट ५२ जना प्रतिनिधि निर्वाचित हुन्छन्, तल्लो सदनका लागि ।
हाल करीब साढे ३४ करोड जनसंख्या रहेको अमेरिकाको तल्लो सदनमा जनसंख्याको हिसाबमा मात्रै तल्लो सदनमा निर्वाचित हुने गर्छ । त्यसरी तल्लो सदनमा जम्मा चार सय ३५ जना निर्वाचित हुने व्यवस्था छ ।
अब, माथिल्लो सदनमा एक सय र तल्लो सदनमा चार सय ३५ जना गरी कूल पाँच सय ३५ जना भए । ठीक यही संख्यामा प्रत्येक राज्यबाट राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन मण्डल गठन हुन्छ, प्रत्येक्ष निर्वाचन मार्फत् । माथि भनिए जस्तो कंग्रेसको दुबै सदनका मिलाएर हुने ५३५ जना सदस्य नै निर्वाचक मण्डलको सदस्य होइनन् । कुन राज्यबाट कति जना सेनिटर र कति जना तल्लो सदनका सदस्य रहने व्यवस्था छ, त्यति नै संख्यामा निर्वाचक मण्डलका सदस्यको चुनाव हुन्छ । यसरी प्रत्यक्ष चुनिने यिनीहरू र सेनिट तथा प्रतिनिधि सभाका सदस्य फरक(फरक हुन्छन् । तिनको चुनाव नै फरक हुन्छ ।
उदाहरणका लागि, क्यालिफोर्निया राज्यबाट २ जना सेनिटर र ५२ जना प्रतिनिधि सभा सदस्य निर्वाचन हुने व्यवस्था छ । यही २ र ५२ गरी ५४ जना निर्वाचक मण्डलको सदस्य चुनिन्छन् । अर्को उदाहरण अलास्कालाई लिऊँ, त्यो राज्यबाट २ जना सेनिटर र १ जना प्रतिनिधि सभा सदस्य निर्वाचन हुने व्यवस्था छ । यसरी अलास्का राज्यबाट राष्ट्रपति चुन्ने निर्वाचक मण्डलमा ३ जनाको चुनाव हुन्छ ।
यी उदाहरण जस्तै प्रत्येक ५० वटा राज्यबाट तत् तत् संख्यामा निर्वाचक मण्डल सदस्य चुनिन्छन् प्रत्यक्ष मतदानबाट । यस प्रकार जम्मा ५३५ जना निर्वाचित हुन्छन् भने थप तीन जना सदस्य अमेरिकाको राजधानी रहेको वाशिङटन डिसी डिष्ट्रिक्ट अफ कोलम्बिया बाट प्रत्यक्ष चुनिन्छन् । यसरी कूल ५३८ जना सदस्य मध्ये जुन पार्टीले कम्तिमा २७० सदस्य संख्या जित्छ, त्यो पार्टीका उम्मेदवार राष्ट्रपति बन्छन् । यो निर्वाचक मण्डलका सदस्यहरूले विधिपूर्वक मतदान गरेर राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने प्रक्रिया केही दिन पछि हुन्छ । यो प्रक्रियाबारे त्यति चर्चा हुँदैन । किनभने कसले जित्यो भन्ने निर्णय निर्वाचक मण्डलको चुनाव सकिना साथ थाहा भैसकेको हुन्छ ।
नयाँ निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिले आउँदो वर्ष २०२५ को जनवरी महिनाको २० तारिखमा शपथ लिएर पदभार ग्रहण गर्छन् । त्यतिञ्जेल अहिले जितकालाई (प्रेजिडेण्ट इलेक्ट) भन्ने गरिन्छ ।
यहाँ एउटा रमाइलो पक्ष छ । निर्वाचक मण्डलमा जनताबाट प्रत्यक्ष मतदान मार्फत् जितेर आएका यिनीहरूको काम राष्ट्रपति छान्नु मात्र हुन्छ। त्यस पछि यिनीहरू कुनै पद वा जिम्मेवारीमा रहँदैनन् । तर, यो निर्वाचन उनीहरूको राजनीतिक यात्राका लागि चाहिँ महत्वपूर्ण हुन्छ । यसै माध्यमबाट केही व्यक्ति आफ्नो पार्टीमा र राष्ट्रिय राजनीतिमा पनि माथि पुग्छन् ।
जित्नेले सबै लान्छ
प्रत्येक राज्यबाट निर्वाचक मण्डलका लागि चुनिनेहरू व्यक्तिगत् रूपमा, निश्चित निर्वाचन क्षेत्रबाट निर्वाचित हुने होइनन् । पूरै राज्यका मतदाताले व्यक्तिलाई होइन पार्टीलाई भोट दिन्छन् । जुन पार्टीले सबै भन्दा वढी भोट पाउँछ त्यो पार्टीले सो राज्यको सबै सिट जित्छ । एउटा पार्टीले केही र अर्को पार्टीले केही जित्न भन्ने हुँदैन । विनर टेक्स अल भन्ने सिद्धान्तमा काम गर्छ यो चुनाव प्रणालीले ।
उदाहरणका लागि, टेक्सस राज्यबाट २ जना सेनिटर र ३८ जना प्रतिनिधि सभा सदस्य गरी जम्मा ४० जना निर्वाचित हुन्छन् । राष्ट्रपति छान्ने निर्वाचक मण्डलमा टेक्ससबाट ४० सिटका लागि चुनाव हुन्छ । यी सिटमा निर्वाचन क्षेत्रका आधारमा उम्मेद्वार हुँदैनन् । राज्यका मतदाताले पार्टीलाई भोट हाल्छन् । यस प्रयोजनका लागि पूरै राज्य एक निर्वाचन क्षेत्र मानिन्छ । जुन पार्टीले सबै भन्दा वढी भोट ल्याउँछ त्यो पार्टीले टेक्ससको सबै ४० सिट जित्छ । यसपालिको चुनावमा टेक्ससमा ५६.२ प्रतिशत भोट ल्याएर रिपब्लिकन पार्टीले सबै ४० सिट जित्यो भने हवाइ राज्यमा ६०.६ प्रतिशत भोट पाएर डिमक्रटिक पार्टीले सबै ४ सिट जित्यो ।