
गभर्नरले बैंकका अध्यक्षहरुसँग सोल्टीमा छलफल गर्दै

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आज बैंकका अध्यक्षहरूसँग छलफल गर्न लागेका छन् ।
गभर्नर पौडेलले आज बैंकका अध्यक्षहरुसँग दिनको १ बजे होटल सोल्टीमा बाफिया संशोधन लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।
छलफलमा बाफिया विधेयकका प्रस्तावित व्यवस्था र दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिका लागि बैंकका अध्यक्षहरूलाई छलफलका लागि डा. पौडेलले बोलाएका हुन् ।
यस्तै गभर्नर डा. पौडेलले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफल गरेका छन् ।
मंगलबारको छलफलमा अर्थ समितिमा रहेको बाफिया विधेयकमा पौडेलले बैंकका सीईओहरुसँग छलफल गरे । बैंकहरुले बैंकर र व्यवसायी छुट्याउनै राज्यको तयारी हो भने अर्को उपयुक्त विकल्प चाहिने जानकारी गराए । बिना बिकल्प मनलाग्दी बैंक र व्यवसायी छुट्याउनु नहुने सीईओहरुको तर्क थियो ।
अहिलेको अवस्थामा बैंकको संस्थापक सेयर बिक्री हुन सकेको छैन । यस्ता विषयमा पनि बैंकहरुले गभर्नरको ध्यानाकर्षण गरेका छन् । बैंकर र व्यवसायी छुट्याउन उपयुक्त विकल्प पनि नदिने र तत्काल हटीहाल भन्न नहुने सीईओहरुको भनाइ छ ।
गभर्नरले बाफिया संशोधन विधेयकका प्रस्तावित व्यवस्था र दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिका लागि छलफल गर्न वाणिज्य बैंकहरूका सिईओलाई राखेर छलफल गरेका हुन् ।


