
अपि पावरको साधारण सभा सम्पन्न:४९ मेगावाटमा लगानी गर्नेदेखि अपार्टमेन्ट बनाउनेसम्मका प्रस्ताव पारित



काठमाडौं । पछिल्लो समय नेपाली जलविद्युत क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्नेदेखि शेयरधनीहरुलाई आकर्षक प्रतिफल दिन सफल कम्पनीको छवी स्थापित गरेको अपि पावर कम्पनीले साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको साधारण सभा आज कार्तिक ११ गते सम्पन्न भएको हो।
कम्पनीका अनुसार गौशालाको होटल क्रिष्टल पशुपतिमा आईतबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमा छलफल गर्दै प्रस्तावहरु पारित गरेको छ।
वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्ष देखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए। सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८० / ०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरु सामु छलफल गर्दै पारित गरेको हो।
सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियम बाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।साथै यस अगाडी घोषणा भएको ९.५१३५ प्रतिशत बाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन। यस बाहेक सभाले लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।
सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए। उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडी बढाइसकेको छ।
यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७ मे।वा। निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
साथै,अपि पावर कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८. ३ मे।वा। निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गरेको जनाइएको छ।
यस बाहेक अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना ९११ मे।वा। को निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ। सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिसकेको छ।
त्यस्तै,कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना संचालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र दुवारिका न्यौपाने नियुक्त भएका छन् भने महिला संचालकमा सिर्जना खड्का नियुक्त भएकी छिन्।
कम्पनीले सभा प्रयोजनका लागि कम्पनीको कार्तिक २ गते एक दिनका लागि सेयरको दर्ता किताब बन्द गरेको थियो। अर्थात आज कार्तिक १ गते सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्ने अपि पावर कम्पनीले जानकारी दिएको हो।

