

दुर्घटनाबाट मृत्यु भएका शिक्षकको हकवालालाई नेपाल बैंकद्वारा बीमा रकम प्रदान




काठमाडौँ । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परी ज्यान गुमाएका मकवानपुर जिल्लाका एक शिक्षकको परिवारलाई बीमा दाबी रकम स्वरूप पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ। बैंकको पालुङ शाखाका कर्मचारी तलब खाता ग्राहकसमेत रहेका रघुनन्दन यादवको निधनपछि बैंकले उक्त बीमा रकम उपलब्ध गराएको हो।
मकवानपुर जिल्ला, थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा नेपाल बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक रघुनन्दन यादवको २०८२ साल जेठ १२ गते थाहा नगरपालिका–३ मा भएको सडक दुर्घटनामा परी निधन भएको थियो। बैंकमा रहेको कर्मचारी तलब खाताको विशेष योजनाअनुसार खाता खोलेको एक वर्षभित्र दुर्घटनाका कारण ग्राहकको मृत्यु भएमा पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने व्यवस्था छ। सोहीअनुसार यादवको निधनपछि आवश्यक कागजात प्राप्त हुनासाथ बीमा दाबी रकम अविलम्ब भुक्तानी गरिएको बैंकले जनाएको छ।
नेपाल बैंक लिमिटेडले असार २२ गते एक कार्यक्रमको आयोजना गरी मृतक यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बीमा दाबी रकमको चेक स्व. यादवकी पत्नी अमिरा कुमारी यादवलाई हस्तान्तरण गरे।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई सधैँ सर्वोच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै भविष्यमा पनि उत्कृष्ट सेवा र सुरक्षालाई उच्च प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे। उनले ग्राहक हितमा कार्य गर्ने बैंकको नीतिको निरन्तरता स्वरूप बीमा रकम समयमै भुक्तानी गरिएको जानकारी दिए।
स्व. रघुनन्दन यादवकी पत्नी अमिरा कुमारी यादवले दुःखद घडीमा बिना झन्झट नेपाल बैंक लिमिटेडबाट प्राप्त आर्थिक सहयोगले परिवारको दैनिक जीवन सञ्चालनमा ठूलो राहत पुगेको महसुस भएको बताइन्। उनले बैंकप्रतिको आभार व्यक्त गर्दै यस्ता बीमा सुविधाले ग्राहकलाई संकटको बेला ठूलो सहारा हुने जनाइन्।