
काठमाडौं । निर्जीवन बीमक यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो ३१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीले काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि सभा सम्पन्न गरेको हो।
सोही साधारणसभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम २१ करोड रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम १ करोड १० लाख ५२ हजार रुपैयाँ बराबरको नगद लाभांश कर समेत सेयरधनीलाई प्रदान गर्ने भएको छ।
सोही कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। तर बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्ने प्रस्ताव पारित गरेको अवस्था छ।
कम्पनीले सोही सभाबाट गत आर्थिक वर्ष को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको बेलामा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको जनाइएको हो ।
यूनाइटेड अजोड इन्स्योरेन्सले प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ वटा उपशाखा कार्यालयहरु, १५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ बीमा सेवा प्रदान गर्दै आएको ।
कम्पनीमा पेश हुन आएका दावीहरुलाई समयमै फरफारक गर्ने, बीमितहरुलाई छिटो छरितो रुपमा सेवा प्रदान गर्ने, कारोबारको दायरा बृद्धि गर्ने एवं व्यवसायिक दक्षता हासिल गर्नका लागि प्रविधिमा आधारित भै बीमा सेवा प्रदान गर्ने उद्देश्य अनुरुप डिजिटल इन्स्योरेन्सलाई विशेष प्राथमिकतामा राखी सूचना प्रविधिमा लगानी अभिबृद्धि गर्दै बीमितलाई अनलाईन पोलिसी जारी गर्ने व्यवस्था मिलाउने कम्पनीको भावि योजना रहेको बताइएको छ ।