

एसईई उत्तिर्णलाई काठमाडौँमा निःशुल्क प्लस टु पढ्ने अवसर




काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै नि:शुल्क अध्ययनको सुनौलो अवसर प्रदान गर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएका, सामुदायिक विद्यालयमा अध्ययन गरेका तथा समावेशी वर्गका विद्यार्थीलाई लक्षित गर्दै महानगरले छात्रवृत्तिका लागि प्रवेश परीक्षा प्रणाली लागू गर्दै अनलाइन आवेदन प्रक्रिया सुरु गरेको हो ।
२०८२/०८३ शैक्षिक सत्रका लागि कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो योजना कार्यान्वयनमा ल्याइएको हो । महानगरले २०८२ असार १८ गतेदेखि २७ गते राति ११:५९ बजेभित्र अनलाइन आवेदन दिन सकिने जानकारी गराएको छ । अनलाइन आवेदनको प्रक्रिया सहज बनाइएको छ, जसअनुसार विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्नेछ । प्रवेश परीक्षा २०८२ साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । यस परीक्षाबाट योग्य ठहरिएका विद्यार्थीलाई महानगरको संस्थागत शिक्षण संस्थाहरुमा छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
परीक्षा प्रणाली पूर्ण रूपमा वस्तुगत बहुवैकल्पिक हुनेछ र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० प्रश्न रहनेछन् । गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिने जनाइएको छ । परीक्षामा पास हुनका लागि विद्यार्थीले न्यूनतम ४० प्रतिशत अंक ल्याउनु पर्नेछ भने गलत उत्तर दिए पनि नेगेटिभ मार्किङ गरिने छैन ।
छात्रवृत्तिमा सहभागी हुन चाहने विद्यार्थीले केही न्यूनतम योग्यता पूरा गर्नुपर्नेछ । आवेदन दिनका लागि एसईई परीक्षामा न्यूनतम १.६ जिपिए प्राप्त गरेको हुनुपर्नेछ । साथै सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई उत्तीर्ण गरेको विद्यार्थीले मात्र आवेदन दिन सक्नेछन् । आवेदनका लागि काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा हुनु अनिवार्य हुनेछ, जसको प्रमाणस्वरूप नागरिकता, जन्मदर्ता वा बसाईसराईको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
त्यस्तै, ल्याण्डफिल्ड साइटबाट प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दालाई समेत छात्रवृत्तिमा प्राथमिकता दिइएको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १, २, ३ र धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर १, ३, ४ का स्थायी बासिन्दाले नागरिकता वा जन्मदर्तासहित सम्बन्धित वडाको सिफारिसपत्र पेश गर्नुपर्नेछ ।
कसरी दिने आवेदन ?
छात्रवृत्तिको लागि आवेदन दिने प्रक्रिया अनलाइन माध्यमबाट हुनेछ । विद्यार्थीले काठमाडौं महानगरको वेबसाइट kathmandu.gov.np वा entrance.kathmandu.gov.np मा गई आवेदन फाराम भर्न सक्नेछन् । फाराम भर्ने क्रममा विद्यार्थीले आफ्नो एसईई परीक्षाको सिम्बोल नम्बर (अल्फाबेटसहित), जन्म मिति र जिपिए प्रविष्ट गर्नुपर्नेछ । सबै विवरण भरेपछि ‘मैले माथि उल्लेखित सबै बुँदाहरू पढेको छु, म आवेदनका लागि योग्य छु’ भन्ने ठाउँमा टिक लगाएर ‘Apply Scholarship’ मा क्लिक गरी आवेदन अघि बढाउन सकिनेछ ।
पहिलो पटक फाराम भर्दा पासवर्डको ठाउँ खाली राख्नुपर्नेछ । साथै, आवेदन फाराम बुझाउनका लागि Geo Location अनिवार्य गरिएको छ, त्यसैले मोबाइल वा कम्प्युटरको लोकेसन सेवा अन गर्नु आवश्यक हुनेछ ।
विद्यार्थीले व्यक्तिगत विवरणमा आफ्नो पूरा नाम, थर, इमेल, मोबाइल नम्बर, तस्बिर, बुबा-आमा तथा हजुरबुबाको नाम, स्थायी र अस्थायी ठेगाना, जन्मदर्ता वा नागरिकताको विवरण सहीसाथ राख्नुपर्नेछ । यसपछि विद्यालयको विवरण, चारित्रिक प्रमाणपत्र वा ट्रान्सफर प्रमाणपत्र वा विद्यालयको सिफारिसपत्र अपलोड गर्नुपर्नेछ । आवेदन दिने विषय एक मात्र चयन गर्न मिल्नेछ, जसमा आफू अध्ययन गर्न चाहेको विषय उल्लेख गर्नुपर्नेछ ।
आवेदन दिने क्रममा काठमाडौं महानगर अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शिक्षण संस्थाहरुमा अध्ययनको इच्छा अनुसार प्राथमिकता तोक्न सकिनेछ । विद्यालय छनोट गर्दा विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको विद्यालयलाई क्रमशः पहिलो, दोस्रो, तेस्रो प्राथमिकता अनुसार राख्नुपर्नेछ । छात्रवृत्तिको छनोटमा यसै प्राथमिकता अनुसार विद्यार्थीलाई विद्यालय तोकिने भएकोले सावधानीपूर्वक छनोट गर्नुपर्ने जनाइएको छ ।
छात्रवृत्ति सिट वितरणको व्यवस्था पनि निश्चित मापदण्डअनुसार गरिएको छ । संस्थागत विद्यालयले प्रदान गर्ने न्यूनतम १० प्रतिशत छात्रवृत्तिको संख्या आधार मानेर देहायबमोजिम वितरण गरिनेछ:
-सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत,
-संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत,
-काठमाडौं महानगरभित्र स्थायी बासोबास गरेका विद्यार्थीलाई १४ प्रतिशत,
-ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दालाई १ प्रतिशत ।
उपरोक्त बाँडफाँडपछि बाँकी रहेको ४० प्रतिशत सिटलाई सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीहरूका लागि आरक्षणका आधारमा वितरण गरिनेछ । सो प्रतिशत यसप्रकार हुनेछ:
-छात्रा: ३३ प्रतिशत
-आदिवासी/जनजाति: १५ प्रतिशत
-मधेशी: १२ प्रतिशत
-खस आर्य: १७ प्रतिशत
-दलित: ९ प्रतिशत
-मुस्लिम: २ प्रतिशत
-थारु: ४ प्रतिशत
-अपाङ्गता भएका व्यक्ति: २ प्रतिशत
-पिछडिएको क्षेत्रका व्यक्ति: ४ प्रतिशत
-शहिद वा वेपत्ता नागरिकको परिवार/ द्वन्द्व पीडित परिवार: २ प्रतिशत
छात्रवृत्ति आवेदन दिने क्रममा विद्यार्थीले केही आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ । ती कागजातहरू यसप्रकार छन्:
-एसईईको प्रवेश पत्र
-पासपोर्ट साइज फोटो
-नागरिकताको प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्र
-चारित्रिक प्रमाणपत्र वा ट्रान्सफर प्रमाणपत्र वा सिफारिसपत्र
-सामुदायिक विद्यालय हो भन्ने प्रमाण स्थानीय तह वा शिक्षा विकास तथा समन्वय इकाइको पत्र
-समावेशी समूहका प्रमाणहरू (जस्तै जनजाति, दलित, मधेशी, मुस्लिम, थारु आदि) सम्बन्धित आयोग, प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहबाट
-खस आर्यको लागि स्थायी बसोबास प्रमाण
-शहीद/विपन्न/द्वन्द्वपीडित/अपाङ्गता भएका विद्यार्थीको सम्बन्धित सिफारिस वा प्रमाणपत्र
-पछाडिएको क्षेत्रको प्रमाणपत्र
-काठमाडौं महानगरको स्थायी बासिन्दा भएको प्रमाण (नागरिकता, जन्मदर्ता वा बसाईसराईपत्र)
प्रवेशपत्र २०८२ असार ३० गतेदेखि विद्यार्थीले स्वयं अनलाइनबाट डाउनलोड गर्न सक्नेछन् । प्रवेशपत्रमा परीक्षा केन्द्रको विवरण समेत हुनेछ । परीक्षा सकिएपछि OMR शीट स्क्यान गरी नतिजा प्रकाशित गरिनेछ । विद्यार्थीले आवेदन दिँदा छनोट गरेको विषय र विद्यालय प्राथमिकता अनुसार योग्यता क्रम मिलाएर अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
छात्रवृत्तिको अन्तिम नतिजा प्रकाशित भएपछि विद्यार्थीको मनोनयन गरिएको विद्यालयमा तीन दिनभित्र भर्ना हुनुपर्नेछ । यदि कुनै विद्यार्थी तोकिएको समयभित्र भर्ना भएन भने सो सिट रिक्त मानिनेछ र दोस्रो सूची प्रकाशित गरिनेछ ।