

शिक्षक र सरकारको वार्ताले निकालेन केही निचोड




काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच शनिबार बिहान छलफल भएको थियो । आजै सम्पन्न उक्त छलफल बिना निष्कर्ष टुंगिएको हो।
यता लामो समयदेखि शिक्षकहरुले राजधानीको सडक अवरुद्ध गर्दा त्यसले विभन्न काममा बाधा पर्दै आएको छ भने शिक्षकहरुले समेत आफ्ना जायज मागहरु सरकारले बेवास्ता गरेको आरोप लगाइरहेका छन् ।
त्यस्तै, सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।
हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘ हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउने छ ।’
उनले अहिले नै आन्दोलन स्थगित भइहाल्ने अवस्था नभएको बताए । तर, केही दिनमा निकास निक्लने तिवारीले विश्वास व्यक्त गरे । कम्तीमा संसद्मा विद्यालय शिक्षा विधेयक प्रवेश गर्नुपर्ने र ग्रेडवृद्धि, मर्यादा क्रमलगायतका विषय मन्त्रिपरिषदबाट निर्णय भएपछि आन्दोलन के गर्ने भन्ने विषयमा सोच्ने सकिने उनको भनाइ छ ।
शनिबारको वार्तामा आन्दोलनरत शिक्षक महासंघले आफ्नो मागबारे मन्त्री रघुजी पन्तलाई राखेका थिए । मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा आइसकेको छैन । तर, वार्तालाई निरन्तरता दिने सहमति भएको छ ।
लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन । शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ ।
साथै, यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको जनाइएको हो।