
घरजग्गा कारोबार र कित्ताकाटमा आकर्षण : चैत महिनामा ४९ हजारले घरजग्गा किनबेच बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१र८२ को चैत महिनामा घरजग्गा कारोबारमा सुधार देखिएको छ । घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो रकम चालु आवको सबैभन्दा बढी मासिक राजस्व हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा घरजग्गा कारोबार र कित्ताकाट दुवैमा उल्लेख्य वृद्धि आएको छ। चैत महिनामा मात्रै ४९ हजार ८३२ वटा नयाँ घरजग्गा किनबेच भएका छन् भने कुल कारोबार संख्या १ लाख ४७ हजार ४१६ पुगेको छ। यो संख्याले पुस महिनामा भएको १ लाख ४० हजार ६२१ कारोबारलाई समेत उछिनेको छ। यसअघि कात्तिकमा सबैभन्दा कम, ९७ हजार १९६ कारोबार मात्रै भएको थियो।
विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अवधिमा कुल ११ लाख २५ हजार ३८८ कारोबार भएका छन्। चैतमा मात्र १ लाख २२ हजार ६५८ कित्ताकाट भएका छन्, जबकि भदौमा यो संख्या ६१ हजार ३३२ मात्रै थियो। साउनदेखि चैतसम्मको कुल कित्ताकाट संख्या ८ लाख ६९ हजार ४४० रहेको विभागले उल्लेख गरेको छ ।गत भदौयता भूउपयोग नीतिका कारण देशभर ६२० पालिकामा कित्ताकाट रोकिएको थियो। नीति संशोधनपछि मात्र पुनः गति लिएको कित्ताकाटले चैतमा नयाँ उत्साह देखाएको हो। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
यस अवधिमा प्रत्येक महिनाको राजस्व संकलन क्रमशः साउनमा ३ अर्ब ८३ करोड, भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड, कात्तिकमा २ अर्ब ७० करोड, मङ्सिरमा ३ अर्ब ८७ करोड, पुसमा ४ अर्ब २५ करोड, माघमा ३ अर्ब ८७ करोड, र फागुनमा ४ अर्ब १२ करोड रहेको विभागले जनाएको छ ।

