

बीमा सर्भेयर : जोखिम मूल्याङ्कन र दाबी प्रक्रियाका महत्त्वपूर्ण हिस्सा




काठमाडौं । बीमा कम्पनीहरूले प्रदान गर्ने बीमा सेवाको अभिन्न अङ्गको रूपमा बीमा सर्भेयरहरूलाई बुझ्न सकिन्छ। कुनै पनि बिमितले दाबी गरेपछि क्षतिको वास्तविक मूल्याङ्कन गरी कम्पनीलाई यथार्थ जानकारी प्रदान गर्ने महत्त्वपूर्ण जिम्मेवारी बीमा सर्भेयरको हुन्छ। उनीहरूले निष्पक्ष र व्यावसायिक दृष्टिकोणबाट काम गरी बीमा दाबीको प्रक्रियालाई सहज र पारदर्शी बनाउन मद्दत गर्ने महत्वपूर्ण जिम्मेवारी समेत प्राप्त गरेका हुन्छन्।
सर्भेयरहरू विभिन्न प्रकारका हुन्छन् र उनीहरूको विशेषज्ञता बीमालेखको प्रकृतिमा निर्भर गर्दछ। उदाहरणका लागि, मोटर बीमाको दाबी मूल्याङ्कन गर्ने सर्भेयरसँग सवारीसाधनको प्राविधिक ज्ञान हुनु आवश्यक छ भने सम्पत्ति बीमाको दाबीमा भवन निर्माण र भौतिक संरचनाको ज्ञान महत्त्वपूर्ण हुन्छ। त्यस्तै, कृषि बीमा, स्वास्थ्य बीमा र अन्य विशिष्ट बीमा क्षेत्रका लागि छुट्टै विशेषज्ञता भएका सर्भेयरहरू हुन्छन्।
सर्भेयरको मुख्य काम भनेको बीमा गरिएको सम्पत्ति वा वस्तुमा भएको क्षतिको स्थलगत निरीक्षण गर्नु हो। निरीक्षणको क्रममा उनीहरूले क्षतिको कारण, प्रकृतिको विस्तृत अध्ययन गर्छन्। आवश्यक भएमा उनीहरूले फोटो, भिडियो र अन्य प्रमाणहरू संकलन गर्छन्। त्यसपछि उनीहरूले उपलब्ध बिमालेखका शर्तहरू र प्रावधानहरूको आधारमा क्षतिको मूल्याङ्कन गरी कम्पनीलाई विस्तृत प्रतिवेदन बुझाउँछन्। यस प्रतिवेदनमा क्षतिको अनुमानित लागत, मर्मत वा प्रतिस्थापनको सम्भाव्यता र बिमालेख अन्तर्गत दाबी भुक्तानी गर्न मिल्ने नमिल्ने जस्ता कुराहरू उल्लेख गरिएको हुन्छ।
बीमा सर्भेयरको भूमिका दाबी प्रक्रियामा मात्र सीमित हुँदैन। कतिपय अवस्थामा बीमालेख जारी गर्नुअघि जोखिम मूल्याङ्कन गर्न पनि सर्भेयरको आवश्यकता पर्दछ। यसले कम्पनीलाई सम्भावित जोखिमहरूको पहिचान गर्न र सोही अनुसार बिमा शुल्क निर्धारण गर्न मद्दत गर्दछ। जोखिम मूल्याङ्कनले भविष्यमा हुनसक्ने विवादहरूलाई कम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
नेपालमा बीमा सर्भेयरहरूको नियमन बीमा प्राधिकरणले गर्छ। बीमा सर्भेयर बन्नको लागि निश्चित शैक्षिक योग्यता र अनुभव हुनु आवश्यक छ। प्राधिकरणले समय समयमा सर्भेयरहरूको लागि तालिम र परीक्षा सञ्चालन गर्दछ। यसले बीमा क्षेत्रमा योग्य र दक्ष सर्भेयरहरूको उपलब्धता सुनिश्चित गर्दछ। यद्यपि, नेपालमा बीमा सर्भेयरहरूको संख्या अझै पर्याप्त छैन।बीमा व्यवसायको विस्तारसँगै दक्ष र अनुभवी सर्भेयरहरूको माग बढ्दै गएको छ। बीमा प्राधिकरणले यस क्षेत्रमा थप जनशक्ति तयार गर्न आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। साथै, सर्भेयरहरूले पनि आफ्नो व्यावसायिकता र निष्पक्षतालाई कायम राख्दै बिमित र बीमा कम्पनी दुवैको हितमा काम गर्नु पर्दछ।
बीमा दाबीको प्रक्रियालाई छिटो, सरल र विश्वसनीय बनाउन बिमा सर्भेयरहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। उनीहरूको सही मूल्याङ्कनले बिमितलाई उचित क्षतिपूर्ति प्राप्त गर्न र बिमा कम्पनीलाई अनावश्यक भुक्तानीबाट बच्न मद्दत गर्दछ। समग्रमा, बीमा सर्भेयर बीमा उद्योगको एक अपरिहार्य हिस्सा हुन्।
पछिल्लो समय नयाँ सर्भेयरहरुलाई लाइसेन्स दिएर बीमा क्षेत्रमा सोही पेशामा जोडिन चाहने जनशक्तीहरुलाई समेत नेपाल बीमा प्राधिरणले स्वागत गरेको अवस्था छ ।