


इभी मात्र होइन इभी मैत्री निती चाहिएको छ, बैंकर्स संघका अध्यक्ष कोइराला



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्लो समय इभीमा लगानी भइरहेकोमा जोड दिएका छन् । अध्यक्ष कोइरालाले मंगलबार नाडा अटो मोबाइल एसोसिएसनले आयोजना गरेको अटो डाइलक कार्यक्रममा सो कुरा बताएका हुन् ।
माछापुच्छ्रे बैंकका सीईओ समेत रहेका कोइरालाले यसअघि घरजग्गा र सेयरमा गरेको लगानी जस्तो नहोस् भन्दै ध्यान दिनुपर्नेमा जोड दिएका हुन्।
साथै, अहिले जोकोहीले पनि ईभी ल्याएर बिक्री गर्न दिँदा त्यसको विश्वसनियतामा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले लामो समयसम्म अटो मोबाइल क्षेत्रमा काम गरेकाहरुलाई मात्रै ईभी आयात गरेर बिक्री गर्ने जिम्मा दिनुपर्ने खुलाए।
साथै, केही पहिला घरजग्गामा लगानी गर्ने बाढी आयो । सबैले त्यहाँ नै लगानी गरे । केही पछि सेयर बजारमा लगानी गर्नेहरु बढे । सबैले त्यहाँ नै लगानी गरेका थिए । अहिले ईभीमा लगानी गरिरहँदा अवस्था त्यस्तै हुने हो कि भन्ने जोखिम हुन सक्छ । त्यसतर्फ सरकारले पनि ध्यान दिनुपर्छ, कोइरालाले खुलाए।
हाल बैंकहरुले ईभीमा लगानी गर्दा जोखिमलाई बढी ध्यान दिने भएकाले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु पनि आवश्यक रहेको अशय व्यक्त गर्दै उनले सरकारले बनाउने नीतिमा नै कसले इभि ल्याउन पाउने, त्यसको गुणस्तर लगायतका विषयमाहरु उल्लेख गर्नुपर्ने विषयमा केन्द्रित भए । ‘अहिले बैंकले गरेको लगानीमा ईभी खरिद भयो । तर दुई वर्षपछि त्यो गाडी ड्यामेज भयो भने उपभोक्ताले त्यो सवारी छोडिदियो भने जोखिम बैंकलाई पर्छ,’ कोइरालाले थपे।
साथै, ईभीका पाटपुर्जाको उपलब्धता, मर्मत गर्ने जनशक्ति लगायतका विषयमा पनि ध्यान दिनुपर्ने भन्दै उनले नेपाल टेष्ट देश जस्तो देखिएको भन्दै उनले उच्च गुणस्तरका सवारी आयात गर्नुपर्ने आवश्यकता रहेको छ भने। वातावरणीय प्रभावका हिसावले पनि ईभी अत्यावश्यक रहेको भए पनि त्यसका लागि आवश्यक पर्ने नीतीहरुको समेत महत्व रहेको उनको भनाई थियो।