

दिउँसै टर्च बालेर सरकार खोजे शिक्षकहरूले




काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले मंगबालर दिउँसै टर्च बालेर सरकारको खोजी गरेका छन् । यसअघि उनीहरूले कालोपट्टी बाँधेर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।
बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् । साथै शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हडतालसमेत घोषणा गरेका छन् ।