
भाटभटेनीमा लुटपाट र तोडफोडबाट ८० लाखको क्षति



काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाट एवं तोडफोडमा ८० लाख बढीको क्षति भएको बताइएको छ । राजावादी समूहले चैत १५ गते गरेको प्रदर्शनमा प्रदर्शनकारीहरूले भाटभटेनीमा तोडफोड र लुटपाट गर्दा ८० लाखको क्षति भएको भाटभटेनीका सिओओ पानु पौडेलले बताए ।
पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँबराबरको सामग्री लुटपाट भएको छ । त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा क्षति पुगेको छ । त्यसबाट ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको बताइएको छ ।
त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । प्रदर्शनकारीले काउन्टरमा रहेको ९४ हजार रुपैयाँ पनि लुटपाट गरेको पौडेलको भनाइ छ ।
हालसम्म भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।

