
विश्वले प्रविधिमा फड्को मारिसक्यो,बीमालाई सँगसँगै लानुपर्छ : नेशनल लाइफका सीईओ खत्री



काठमाडौं । नोभल्टी न्युज मिडीया प्रा.लि. द्धारा संचालित बीमा दर्पण डटकम अनलाइन पत्रिकालाई नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले विश्व बजार प्रविधि मैत्री बन्दै गएको बेलामा बीमा क्षेत्रले पनि त्यस्ता अभ्यासलाई आत्मसाथ गर्दै जाने बताए । उनले गत साउन १० गते दर्ता भई एक महिना अवधि निरन्तर रचनात्मक शुभकामना थाप्दै आएको बीमा दर्पण डटकमलाई शुभकामना सन्देश दिने क्रममा नै प्रविधि र बीमा आजको अपरिहार्यता बनेको बताएका हुन् ।
नेशनल लाइफ इन्स्योरेन्सका सीईओ खत्रीले बीमा दर्पण डटकमसँग भने,‘बीमा सबैलाई आवश्यक छ । हरेक व्यक्ती जो बीमाको दायरामा आउँनु हुन्छ उहाँहरुकै जोखिम सुरक्षण हुने हो । आज विश्व बजारमा हेर्ने हो भने धेरै ठूला जोखिमका धमाधम बीमा भइरहेका छन् । यसको मतलब बीमा पनि किन्नु पर्ने भएकाले कसलाई कस्तो बीमा आवश्यक छ ? भन्ने कुरा पहिल्याउनु महत्वपूर्ण हुन जान्छ । अझ बीमामा जति छिटो जोडिन सकियो त्यति नै बीमितले पाउँने सुविधा पनि छिटो पाइन्छ । दिन गन्तीको आधारमा नै बीमा हुने भएकाले सकेसम्म यसको दायरामा बसौ भन्ने सबैलाई हुन्छ । कतिपयलाई आवश्यक जानकारी नभएको पनि हामीले पाउँछौ । अब यहाँहरुले पनि त्यस्ता ग्यापलाई चिर्न र बीमित, शेयरधनीहरुलाई सहि सूचना दिन सक्नु हुनेछ । मेरो विचारमा साक्षरताको पक्षमा मिडीयाले गर्न सक्ने ठाउँ पनि प्रशस्तै छ ।’
उनले थपे,‘अहिले त प्रविधिकै जमाना छ । सबैको हात-हातमा मोवाइल र घर–घरमा इन्टरनेट, कम्प्यूटर राख्न थाल्नु भएकै छ । अब बीमा पनि सहज रुपमा गर्न सकियोस् भन्ने बीमितहरुको माग छ । हामीले हाम्रो तर्फबाट डिजिटल इन्स्योरेन्स पोलिसीका लागि धेरै काम गरि रहेको अवस्था छ । जति सक्दो छिटो–छरितो बीमा सेवा दिऔं भन्ने हाम्रो पनि उदेश्य हो । आज बीमा गरेका व्यक्तीले फेरी अर्को व्यक्तीलाई बीमा गर भन्दा र कुनै पनि व्यक्ती दोहोर्याएर बीमा गर्न आउँनु हुन्छ भने त्यस्तो बेलामा कम्पनीले आफ्नो सफलता ठान्नु पर्छ । तपाईहरुले तथ्यांकमै हेर्नु हुन्छ भने पुराना–पुराना बीमितहरुले धाउँनु भएकै अवस्था छ । कतिपय कुराहरु उहाँहरुलाई हामीले पनि पूर्ण सन्तुष्ट बनाउँन विभिन्न गृहकार्य गरिरहेका हुन्छौं । अन्तर्राष्ट्रिय हिसाबमा हामीले हाम्रा केही संरचनालाई नयाँ बनाउँदै लग्नु पर्नेछ भने अर्को कोणबाट हेर्दा बीमा आफैंमा अन्तर्राष्ट्रिय अभ्यास भएकाले यसका (हेल्दी) स्वस्थ व्यावसायीकताले नै कुनै पनि कम्पनीको सबलता परिक्षण हुन्छ ।’
उनले बीमा नाप्ने (प्यारामिटर) मापन यन्त्र ठ्याक्कै यही नै हो भन्न नसकिए पनि जुनसुकै अवस्थामा बीमा कम्पनीले बीमितको सेवालाई अग्रपंक्तीमा राखेर काम गर्नु पर्ने बताए । साथै, उनले त्यस्ता क्रियाकलपहरुलाई कसले सहि ढंगले अभ्यास गर्न सफल भएका छन् वा को चुकेका छन् ? भन्ने कुरा विश्लेषणको विषय बन्न सक्ने स्पष्ट पारे ।
सीईओ खत्रीले शुभकामना दिने क्रममा अन्तिममा भने,‘समाचार लेख्दै आउनु भएका व्यक्तीले पोर्टल चलाउदा समाचारको प्रभाव कहाँसम्म पुग्छ वा लक्षित वर्गलाई कस्तो (कन्टेन्ट) विषयवस्तु पस्किने भन्ने गहन विषय हुन सक्छ । यहाँहरु जस्तो आर्थिक तथा बीमा क्षेत्रमा लामो समय कलम चलाउँदै आउँनु भएका व्यक्तीले पोर्टल संचालन गर्नु हुन्छ भने (कन्टेन्ट क्रियटर) विषयवस्तुहरुको सिर्जनाकार बन्ने सुनौलो मौका सधै हुनेछ । शुभकामना ।’

