


बजेट निर्माणको संघारमा जीवन बीमकको पुरानै दौडधुप,पस्किए जीवन बीमामा कर छुटको पुरानै एजेण्डा



काठमाडौं । हरेक वर्ष जीवन बीमकहरुको दौडधुप चल्ने गर्छ । त्यो पनि उस्तै एजेण्डाका लागि र एउटै ठाउँमा । कहिलेकाही चिठ्ठा परेजस्तो उनीहरुको समस्या समाधान भएको पनि पाइन्छ । अहिले बजेट निर्माणको संघारमा नेपाल जीवन बीमक संघलाई पुरानै रोगले सताएको छ । उनीहरु हाल अर्थमन्त्रालय धाएका छन्, त्यो पनि पुरानै एजेण्डाका केही बुँदाहरु च्यापेर ।
सोमबार उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलसँग जीवन बीमकहरु भेट गरे । त्यस्तो भेटमा बार्षिक एक लाख रुपैयाँसम्मको कर छुट माग गरिएको छ । त्यस्तो छुट बीमाशुल्क बापत बुझाईने कर छुटका लागि मागिएको जनाइएको हो।
सोही एजेण्डा पस्कन जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल सहित संघका उपाध्यक्ष एवम् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रविणरमण पराजुली उपस्थित थिए ।
सोही क्रममा एशियन लाइफका सीईओ एवम कोषाध्यक्ष दिनेशलाल श्रेष्ठ तथा सुर्यज्योति लाइफका सीईओ एवम् बीमक संघका महासचिव प्रकाश बिक्रम खत्री एकसाथ मन्त्रालय पुगे ।
मुख्य कर छुटको एजेण्डालाई जोडदै बीमित तथा आम नागरिकहरुलाई नै कालान्तरमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाभ पुग्ने किसिमले जीवन बीमकहरुले अस्वभाविक रुपमा लागेका, प्रतिउत्पादक देखिएका कतिपय करमा छुट पाउँनु पर्ने एजेण्डादेखि बीमा क्षेत्रलाई बजेट निर्माणको क्रममा नजिकबाट नियाल्नु पर्ने किसिमका केही प्राविधिक एजेण्डाहरु प्रस्तुत गरिएको छ ।
जीवन बीमक संघका एक अधिकारीका अनुसार राज्यले लिएकै नीतिमा नागरिकहरुलाई लाभ पुग्ने भएकाले आगामी दिनमा बजेटले आफ्ना मागहरु सम्बोधन गरेमा त्यसको सबैभन्दा धेरै लाभा सेवाग्राही अर्थात बीमितहरुले पाउँने बीमा दर्पण डटकमलाई बताएका छन् ।