
सरकारको कमाई भन्दा खर्च बढी छ : महालेखा नियन्त्रक कार्यालय



काठमाडौं । सरकारले गरेको आम्दानी भन्दा पनि त्यसको अनुपातमा खर्चको तथ्यांक धेरै देखिएको छ । त्यस्तो तथ्यांक चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्ममा दाँजेर हेर्दा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको हो।
यता, महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गर्दा ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ। अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा १ खर्ब ५३ करोड ४७ लाख रुपैयाँ खर्च बढी देखिन्छ।
समिक्षा अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको बेलामा महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्र कायम रहेको अवस्था छ ।
हाल सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ८२ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबर मात्रै खर्च भएको आँकडा महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको हो । ।
त्यसरी नै सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो भने फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात् ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ बराबरको खर्च भएको अवस्था छ।
साथै, चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात ५ खर्ब ८४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ बराबर खर्च भएको छ तथा वित्तीय व्यवस्थापन शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाख रुपैयाँ बराबर खर्च भएको जनाइएको छ।
अहिले सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात् ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ बराबर असुली भएको भने सोमध्ये कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रुपैयाँ विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात छ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख रुपैयाँ सङ्कलन भएको हो।
अझ गैरकर राजस्वतर्फ १ खर्ब ३५ अर्ब नौ करोड ३४ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात ८१ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ असुली भएको छ भने सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर देखिन्छ । सोही तथ्यांकका अनुसार चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात नौ अर्ब १६ करोड २५ लाख रुपैयाँ अनुदान लिइएको आँकडामार्फत बताइएको हो ।


