

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन खुला




काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आम सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणको आईपीओमा आजदेखि आवेदन खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ ।
यसरी कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि आजदेखि निष्कासन गरेको हो । यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि दिन सकिनेछ । निष्कासन बन्द छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते हुने भनिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।