शिवपुरीमा नयाँ झरना पत्ता लाग्यो : पदयात्रा शुभारम्भ
नुवाकोट । नुवाकोट जिल्लाको शिवपुरी ८, स्थित गोकुलेश्वर झरनामा पदयात्रा सुरु भएको छ ।
राजधानी काठमाडौंबाट नजिकै पर्ने उक्त झरनामा व्यवसायिक पदयात्रा र अवलोकनको काम शनिवारबाट सुरु गरिएको हो । स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा गोरेटो बाटो समेत बनाई प्रचारप्रसारको काम भएको हो ।
गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ पर्यावरण अभियन्ता समेत रहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गरेका हुन्।
अध्यक्ष बस्नेतले उक्त कार्यक्रमको सुरुवात गर्दै गोकुलेश्वर झर्ना र सँगै रहेको गोकुलेश्वर महादेव दर्शनका लागि पर्यटक भित्र्याउन सके स्थानीयको आयआर्जन बढ्ने बताए ।
प्रकृतिमाथि अहिले विभिन्न अन्याय भइरहेको सन्दर्भ राख्दै उनले स्थानीय जनसमुदाय आफैले पहल गरेर झर्नासहितको पर्यटकीय स्थान पहिचान गरेर न्याय दिलाएकोमा खुशी प्रकट गरे।
प्रकृतिलाई हामीले बचाउन सक्यौं भने मात्र हामी पनि बाँच्छौं । हाम्रा पुस्ता समेत सुरक्षित हुन्छन्, अध्यक्ष बस्नेतले भने, शिवपुरी क्षेत्रका खोलानाला, वन, झर्नासहितका सम्पदाको संरक्षण र उपयोग गर्न सके स्थानीय जनताको जीवनस्तर राम्रो हुने पक्का छ ।
यहाँका स्थानीय र अर्गानिक सामाग्रीको उत्पादन बढाइ यूवाहरुलाई स्वरोजगार बनाउन यस्ता अभियानले सघाउने उनले बताए।
उनले काठमाडौंबाट नजिकै रहेको गोकुलेश्वर महादेव र झरना यूवाहरुको रोजाईमा पर्ने र आकर्षणको केन्द्र बन्ने पक्का भएकोमा जोड दिए ।
गोकुलधुप झरना राजधानी काठमाडौंबाट लगभग १ घण्टाको दूरीमा छ। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा पर्ने यो स्थल काठमाडौंबाटसामाखुसी,गुरुजेभञ्याङ काफलडाँडा सम्म टोखा छहरे सडक हुदै वाइक वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ। मुख्य मार्गमा झरेर झरनासम्म पुग्न करिब चार–पाँच मिनेट पैदल हिँड्नुपर्छ। हालै स्थानीय बासिन्दाहरूले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले स्थानीयको अग्रसरतामा स्थानीय सरकार सधैँ साथ रहेको र शिवपुरीको सम्पुर्ण पर्यटकिय क्षेत्रको विकासमा गाउँपालिकाले प्रथमिकतामा राखेको समेत बताए ।
स्थानीय अगुवा इन्द्रराज सेढाईँको संयोजनमा सम्पन्न भएको पदयात्रा कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, शिवपुरी गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष केशब रिजालसहित विभिन्न सञ्चारमाध्यमा प्रतिनिधि साथै स्थानियहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सयौको संख्यामा स्थानियबासी लगायत आन्तरिक पर्यटनमा रुची राख्ने शुभ चिन्तकहरु भेला भएका थिए।