

पियोर इनर्जीले आईपीओ खुलायो




काठमाडौं । पियोर इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओमा आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि आईपीओमा आवेदन खुला गरेको हो ।
कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।
आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा आयोजना प्रभावितले १६ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेकाले ७ हजार २०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म लम्बिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि अवधि लम्बिने छैन ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । पियोर इनर्जी आईपीओ जारी गर्ने पहिलो सौर्य ऊर्जा कम्पनी बनेको छ ।