
वीरगञ्ज नाकाबाट ७ महिनामा ८ अर्ब बढीको खाद्यान आयात



काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिना र अर्को एक महिना गरी जम्मा सात महिनामा वीरगञ्ज नाका हुँदै ८ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको तथ्यांक सार्वजनिक गरिएको छ । समिक्षा अवधिमा गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको देखिएको हो ।
गत आवको सोही अवधिमा यो नाका हुँदै ४अर्ब ९१ करोड रुपैयाँ मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको देखिन्छ।
यता, वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताएका छन् । ‘गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।’ कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै १ अर्ब ३५ करोड रुपैयाँ मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको हो ।
साथै, गत आवको सोही अवधिमा भने १ अर्ब ६ करोड रुपैयाँको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको बेलामा चालु आवको सात महिनामा २ अर्ब ९६ करोड रुपैयाँ मूल्यको ५ करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ ।
तथ्यांकमा गत आवको सोही अवधिमा भने २ अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने ६ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो भने गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको हो।

