
समाचारले लक्षित वर्गलाई सूसुचित गरोस् : प्रभु महालक्ष्मी लाइफका सीईओ प्रसाईं



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले बीमा दर्पण डटकमलाई शुभकामना व्यक्त गरेका छन् । उनले आगामी दिनमा समाचार एउटा औपचारिकता पूरा गर्न लेखिएको जस्तो मात्र नभई अब आउने न्यूज पोर्टलले सम्बन्धित क्षेत्रका मुख्य विषय वस्तुहरुमा प्रत्यक्ष प्रवेश गर्नु पर्ने बताएका हुन् ।
प्रभु महालक्ष्मी लाइफका सीईओ प्रसाईले बीमा दर्पण डटकमसँग भने,‘समाचार के कस्तो बनाउने ? भन्ने काम मिडीयाकै हो । तर, यसमा समाचार जसले जहिले लेखे पनि गुणस्तरीय हुुनपर्छ भन्ने चाही हाम्रो भनाई हो । समाचार लेखिराख्दा त्यो विषय वस्तुको बारेमा ज्ञान पनि राख्नु पर्छ । बीमाको बारेमा ज्ञान राखेर समाचार लेख्ने हो भने त्यसले माइलेज पनि दिन्छ, तपाईले जसको लागि समाचार लेख्नुहुन्छ उनीहरुमा जे हो त्यही पुग्छ । वास्तवमा कुनै पनि न्यूज पोर्टलले गर्नु पर्ने पनि त्यही नै हो ।’
उनले थपे,‘कतिपय अवस्थामा हामीले बीमा भनेको के हो ? भन्ने थाँहा नपाएको स्थिती रहेको पनि पाउँछौं । हुन त बीमा प्राविधिक विषय पनि हो । हामीले हाम्रोतर्फबाट त यसमा धेरै काम गरिरहेकै छौ । अब तपाईहरुको तर्फबाट पनि दूर–दराजमा बीमाको परिभाषा बुझाउँन समाचारकै माध्यमबाट धेरै कुरा बुझाउन सकिन्छ । अहिले बीमा क्षेत्रमा राम्रो लेख्ने अन्य पत्रिकाहरु पनि हुनुहुन्छ । त्यसमा तपाईहरु पनि बीमा दर्पणको रुपमा आउनु भएको छ । त्यसको लागि राम्रो कभरेज गर्नु होला । केही कुरा लेख्नु अघि त्यस्ता विषय वस्तुहरुको आवश्यक अध्ययन गर्नु होला । तपाईहरुले लेख्ने कुरामा बीमाका केही विषय वस्तुहरुको जानकारी दिन हाम्रो आवश्यकता परेमा हामी सधैं छौं । लेख्नको लागि मात्रै लेख्ने भन्दा पनि बीमाको बारेमा बुझेर कसैले राम्रोसँग लेख्छ भने त तपाईको पोर्टलको पनि पक्कै खोजी हुनेछ ।’
सीईओ प्रसाईंले शुभकामनाकै क्रममा भने,‘यहाँ राम्रो लेखिन्छ भन्ने बित्तीकै तपाईंको खोजी हुनु र तपाईको लेख स्वभाविक रुपमै पढिन्छ । नयाँ पोर्टल ल्याउँनु भएको छ त्यसको लागि तपाईलाई धेरै–धेरै शुभकामना । अहिले सुरुवात गरिसक्नु भएको छ, फलोस्, फुलोस् । हामी त सधैं भईनै हाल्छौ । तर, यो पोर्टललाई एकदमै राम्ररी अघि बढाउनु होला । यसको कन्टेन्टमा विषेश ध्यान दिनु होला । जहिले पनि पढ्ने मान्छले त्यसबाट केही चिजहरु बुझोस्, प्राप्त गरोस् । बीमा क्षेत्रलाई बुझ्ने र हेर्ने दृष्टिकोणमा नै परिवर्तन ल्याउन सक्ने गरी तपाईले बीमाका सचेतनाहरु फैलाउन पनि काम गर्न सक्नु हुनेछ । बीमाको बजारले धेरै जनाको जोखिम धानेको हुन्छ । सोही कारण यसका चेतना फैलाउन र बीमा उद्योगको माध्यमबाट देशको अर्थतन्त्र सुधारमा यहाँहरुको योगदान रहोस् । तपाईलाई त्यसको लागि धेरै–धेरै शुभकामना ।’

