

हिमालयन लाइफको साधारणसभाबाट पारित भयो लाभांश




काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १७ औँ वार्षिक साधारणसभा समापन गरेको छ । सोही सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा सम्पन्न भएको हो भने लगानीकर्तालाई आर्थिक वर्ष २०७७९।८०का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गरिएको हो।
यता बोनस शेयरमा लाग्ने कर भने स्वयं शेयरधनीहरुले नै तिर्नुपर्ने जनाइएको छ। हाल बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको भिन्न अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत रुपमा राख्ने प्रस्ताव सभाले अनुमोदन गरेको अवस्थामा बोनस शेयर वितरणपछि जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुने भएको छ ।
सोही सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ भने हिमालयन लाइफमा मर्ज भएको साविक गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।८० को मर्जअघिसम्मको लेखापरीक्षक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस बमोजिम तयार गरिएको वित्तीय विवरण समेत पारित भएको अवस्था छ।
कम्पनीले जनाए अनुसार आर्थिक वर्ष २०८०।८१ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव सदर भएको हो ।