
७ महिनाको सार्वजनिक ऋण २६ खर्ब माथि



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा सार्वजनिक ऋण बढेर २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । सोही सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म आन्तरिक तथा बाह्य गरी कुल ऋण २६ खर्बभन्दा बढी कायम भएको जनाइएको हो ।
यता, माघ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ छ भने बाह्य ऋण दायित्व १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको तथ्यांक सरकारी निकायले दिएको अवस्था छ ।
त्यसरी नै गत असार मसान्तसम्म कुल ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको सात महिनामा आन्तरिक तथा बाह्य ऋण १ खर्ब ७६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भएको बेलामा सोही ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.७७ प्रतिशत रहेको जानकारी दिइएको छ।
साथै, चालु आर्थिक वर्षको सात महिनामा सरकारले कुल एक खर्ब ५० अर्ब २० करोड रुपैयाँ भुक्तानी गर्दा सो मध्ये आन्तरिकतर्फ १ खर्ब २७ अर्ब २४ करोड र बाह्यतर्फ २२ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरिएको हो ।


