
नेपाली बीमाक्षेत्र : अध्यक्ष/सीईओको कार्यकाल ४ वर्ष,एउटा बीमालेख स्वीकृत हुन ६ वर्ष



काठमाडौं । नेपाली बीमा क्षेत्रमा अत्यन्तै ठूलो र अपत्यारिलो घटना फेला परेको छ । त्यस्तो घटना सुन्दा बीमा क्षेत्रका बारेमा जो जानकार छन् उनीहरुलाई झनै आश्चर्यजनक लाग्ने पक्का छ ।
हाल नेपालमा संचालनमा रहेको एक ठूलो जीवन बीमा कम्पनीको (प्रोडक्ट) बीमापोलिसी–बीमालेख स्वीकृत हुन ६ वर्ष समय अवधि लागेको खुलेको हो । जबकी बीमा क्षेत्रका अनुभवी, जानकार तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले समेत कुनै बीमा कम्पनीको प्रोडक्ट स्वीकृतीलाई तीन महिनासम्म समय लाग्नु स्वभाविक हुने स्पष्ट पारेका छन् । तर, सो अवधिभन्दा बढी समय लागेमा त्यस्तो अवधि आलटाल पार्नेदेखि कुनै बीमा कम्पनीलाई डुबाउनेसम्मको खतरा हुने सूचना दिएका हुन् ।
हाल नेपाल बीमा प्राधिकरणमा अध्यक्षको कार्यकाल जम्मा चार वर्षे हुने व्यवस्था छ । त्यस्तै, बीमा कम्पनीको नेत्तृत्व गरिरहेका सीईओहरुको समेत कार्यअवधि त्यही चार वर्षलाई नै तोकिएको हुन्छ । यस्तो अवस्थामा केही बीमा कम्पनीहरुले बीमितलाई बिक्री गर्नका बनाउँने बीमालेख स्वीकृत हुनलाई नै आधा दशकभन्दा बढी समय लागेको खबर प्राप्त भएको हो ।
एक ठूलो बीमा कम्पनीका कर्मचारीले बीमा दर्पण डटकमसँग भने,‘यो त सुधार गर्नु पर्ने कुरा हो । यहाँ लेख्नु पर्ने विषयहरु धेरै छन् । खै कस्ले लेख्ने र ? तपाईहरु नयाँ आउँनु भएको छ । सल्लाह सुझावको रुपमा भए पनि लेख्नुस् । हाम्रोमा प्रोडक्ट स्वीकृत हुन नै ६, ८ वर्ष लागेको छ । अझै अरुकोमा १० वर्ष पनि लागेको होला । तर, कुरा यति हो एउटा बीमालेख स्वीकृत हुन लाग्ने यति धेरै लामो समय भनेको निकै अस्वभाविक हो ।’
त्यस्तै, बीमा क्षेत्रमा लामो समय कार्य अनुभव हाँसिल गरेका एक अनुभवीले भने,‘तपाईहरुले लेख्नु भयो भने बीमा कम्पनी र बीमा प्राधिकरण दुवैले आफूलाई सुधार गर्ने मौका पाउँछन् । सधै यस्तै छ चलिहाल्छ नि भन्ने हिसाबले जानु हुँदैन । कुनै पनि कुरा सुधारात्मकतर्फ जानु भनेको आफैमा राम्रो कुरा हो । तपाईले सोधे जस्तै एउटा जीवन बीमा कम्पनीको प्रोडक्ट स्वीकृत हुन लाग्ने समय भनेको तीन महिना हो । एक्चुरी (बीमांकी) बीमाका जोखिम आँकलनकर्ता कहाँ पठाउनुपर्छ, त्यसमा समय लाग्ने हो । अब कुनै जीवन बीमा कम्पनीको प्रोडक्ट स्वीकृत हुन ६ वर्ष लाग्छ भने त्यो त इन्स्योरेन्स कम्पनीलाई डुबाउने काम नै हो । बदनियत नै देखियो नि त्यस्तो हुने बित्तीकै त ।’
यता नेपाल बीमा प्राधिकरण नै तत्कालिन बीमा समिति रहेकोको बेलामा तत्कालिन अध्यक्ष चिरञ्जिवी चाँपागाईंको कार्यकालमा आएको प्रोडक्ट वर्तमान बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको पालामा स्वीकृत हुनुले पनि केही रहस्यमय भने देखिन्छ । तर, बीमा आफैमा प्राविधिक विषय भएकाले यसलाई धेरैले बुझ्दैनन् भनेर अनावश्यक ढिलासुस्ती गर्ने काम कहिकतैबाट हुनुभन्दा पनि बरु सक्दो छिटो छरितो र प्रविधि मैत्री सेवा दिनु जायज हुने देखिन्छ ।
डिजिटल इन्स्योरेन्सको धज्जी उड्यो
हाल ई–सेवाबाट हवाईजहाजको टिकट काटेको जसरी बीमा कम्पनीहरुबाट बीमा सेवा लिन बीमितहरु माग गरिरहेका छन् । केही कम्पनीहरुले टालटुल पारेर सामान्य प्रोडक्टहरु लन्च समेत गरेकै छन् । यस्तो अवस्थामा नियामक बीमा प्राधिकरणका अध्यक्षको एक कार्यकाल र कुनै नाम चलेको ठूलो जीवन बीमा कम्पनीले नै एउटा प्रोडक्ट स्वीकृत गर्न आफ्नो कार्यकालमा सक्दैनन् भने यसले डिजिटल इन्स्योरेन्सको धज्जी उडेको छ । साथै, त्यस्तै डिजिटल इन्स्योरेन्सको धज्जी मात्रै उडेको छैन एउटा प्रोडक्ट बनाउनै त्यति लामो समय लाग्दा कुनै सीईओ वा अध्यक्षले आफ्नो कार्यकालमा कुन कामलाई कतिको प्राथमिकता दिएका छन् ? भन्ने पनि प्रश्न उठ्नु स्वभाविक देखिन्छ । तर, स्वीकृत गर्न नमिल्ने प्रोडक्ट भए त्यति लामो समय किन होल्ड भयो भन्ने विषयको जवाफ आजसम्म अधिकांश कम्पनीले पाउन नसकेको बताउँछन् ।
आगामी दिनमा आफ्ना प्रोडक्टहरु छिटो–छरितो, सरल तथा पारदर्शी ढंगले सामय सापेक्ष रुपमा स्वीकृत गर्ने गराउने कुरामा बीमा कम्पनीहरु तथा नियामक बीमा प्राधिकरण सजक हुनुपर्ने देखिन्छ ।

