
नेपाल पुनर्बीमा कम्पनीले १६.९१ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, चुक्ता पूँजी २० अर्ब पु¥याइँदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पुँजी पुर्याउनका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल चुक्ता पूँजी २० अर्ब रुपैयाँ पु¥याउने प्रयोजनका लागि करिब १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । कम्पनीमा रहेको नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत सेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट हकप्रद सेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागिएको हो ।
आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ । कम्पनीले पुस ६ गतेका लागि वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । उक्त सभा कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने छ ।


