
हुलाकबाट कुरियर गर्न घुस मागेको आरोपमा नायब सुब्बा रिजालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको पार्सल शाखामा कार्यरत रिजालले कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउन आएका सेवाग्राहीसँग घुस मागेका थिए।
सेवाग्राहीको उजुरी तथा सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा रिजालले आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै सेवाग्राहीको सामान विदेश पठाउने क्रममा विभिन्न बहाना बनाई बार्गेनिङ गरी २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार उनले आपसी मिलेमतो र योजनामा सेवाग्राहीसँग घुस मागेर लिएको देखिएको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले २० हजार रुपैयाँ बिगो कायम गरेको छ।
आयोगले रिजाललाई बिगोबमोजिम जरिवाना र ऐनअनुसार कैद सजायको मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।


