
आज साँझ मोबाइलमा बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह
काठमाडौं । आज साँझ काठमाण्डौका केही क्षेत्रमा मोबाइल फोनमा अचानक चेतावनीको आवाजसहित सन्देश आउन सक्ने भएको छ। सरकारले विपद्को पूर्वसूचना दिने अत्याधुनिक सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System–CBS) को प्रारम्भिक परीक्षण गर्न लागेकाले यस्तो सन्देश आउन सक्ने भएको हो। मन्त्रालयले यस्तो सन्देश आएमा नआत्तिन र कुनै प्रतिक्रिया वा अतिरिक्त कदम नचाल्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार आज २०८३ मंसिर ७ गते साँझ ५:३० बजे काठमाडौंका केही क्षेत्रमा २ जी मोबाइल सञ्जालमार्फत परीक्षण गरिनेछ। गृह मन्त्रालयसहित सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा यो परीक्षण हुन लागेको हो । परीक्षणका क्रममा तोकिएका क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्छ। यस्तो सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न मन्त्रालयले अनुरोध गरेको छ।
मोबाइलमा प्राप्त हुने सन्देश नेपाली र अंग्रेजी दुवै भाषामा हुनेछ। सन्देशमा स्पष्ट रूपमा ‘यो परीक्षण सन्देश हो’ तथा ‘TEST ALERT’ उल्लेख गरिएको हुनेछ। परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।


