
बैंकर्स संघको पहिलो अन्तरबैंक फुटसल कप सम्पन्न
काठमाडौं । नेपाल बैंकर्स संघद्वारा आयोजित पहिलो अन्तरबैंक फुटसल कप २०२६ सम्पन्न भएको छ। मंसिर ५ र ६ गते सञ्चालन भएको प्रतियोगितामा नेपालका २० वाणिज्य बैंकका टोली सहभागी भएका थिए।
प्रतियोगिता पुरुष र महिला गरी दुई विधामा सञ्चालन गरिएको थियो। पुरुषतर्फ लक्ष्मी सनराइज बैंक विजेता बनेको छ भने एनएमबी बैंक उपविजेता भएको छ। महिलातर्फ एनएमबी बैंकले उपाधि जित्दा कृषि विकास बैंक उपविजेता बनेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न व्यक्तिगत विधाका पुरस्कारसमेत प्रदान गरिएको छ। पुरुषतर्फ लक्ष्मी सनराइज बैंकका सन्दीप पाण्डे उत्कृष्ट गोलरक्षक र सोही बैंकका प्रणिम सिंह ठकुरी उत्कृष्ट खेलाडी घोषित भएका छन्। सर्वाधिक गोलकर्ताको पुरस्कार भने कृषि विकास बैंकका राजकुमार निरौला र प्रभु बैंकका रोहन खड्काले संयुक्त रूपमा प्राप्त गरेका छन्।
महिलातर्फ एनएमबी बैंककी शोभा घिमिरे उत्कृष्ट गोलरक्षक र जीना डंगोल उत्कृष्ट खेलाडी घोषित भएका छन्। ग्लोबल आइएमई बैंककी उर्मिला श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरेकी छन्।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला र उपाध्यक्ष सुरेन्द्र राज रेग्मीको पनि उपस्थिति थियो। उनीहरूले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र पदक वितरण गरेका थिए।
दुई दिनसम्म चलेको प्रतियोगितामा सहभागी टोलीले उत्साह र अनुशासनका साथ प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको उद्देश्य बैंकिङ क्षेत्रका कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र समूहगत भावनाको विकास गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको संस्कृति प्रवर्द्धन गर्नु रहेको संघले जनाएको छ।
नियमित कार्यव्यस्तताभन्दा बाहिर कर्मचारीलाई खेलकुदमार्फत एकआपसमा जोड्ने, शारीरिक तथा मानसिक स्वास्थ्य र समग्र कल्याणलाई प्रोत्साहन गर्ने तथा बैंकिङ क्षेत्रभित्रको आपसी सम्बन्ध सुदृढ बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो। नेपाल बैंकर्स संघले आगामी वर्षहरूमा पनि यस्ता खेलकुद तथा सहकार्य प्रवर्द्धन गर्ने गतिविधिलाई निरन्तरता दिने जनाएको छ।


