
पत्रकार महासंघले गर्यो आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम
काठमाडौं । नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको, समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको र सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि हालसम्म कारबाही नभएको भन्दै आन्दोलन घोषणा गरेको महासंघले जनाएको छ।
महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअनुसार बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षणपत्र बुझाउने उल्लेख छ। त्यसको तीन दिनपछि मंसिर ५ गते संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने महासंघका महासचिव रामप्रसाद दाहालले बताएका छन्।
त्यस्तै गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराएको विषयलाई पनि महासंघले आन्दोलनको कारणका रूपमा उल्लेख गरेको छ।
मंसिर ९ गतेसम्म विरोधका बिभिन्न कार्यक्रम सार्वजनिक गरेको महासंघले आफ्ना माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।


