
लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकले मंसिर २३ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ४० औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा बिहान ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १० गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


