
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त
काठमाडौं । जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा वृद्धि हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। यो नतिजा अर्थशास्त्रीहरूले गरेको ०।१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो। वार्षिक आधारमा भने जापानको अर्थतन्त्र ०।१ प्रतिशतले संकुचित भएको छ।
तेलको मूल्य वृद्धि र येन कमजोर हुँदा आयात महँगिएको छ। त्यसको असर उपभोक्ताको खर्चमा परेको छ। तेस्रो त्रैमासिकमा निजी उपभोग ०।३ प्रतिशतले घटेको छ। यसअघि अप्रिलदेखि जुनसम्म पनि निजी उपभोग समान दरले घटेको थियो। जुलाईमा आएको आँधी र भारी वर्षाले उपभोक्तालाई किनमेलमा जान निरुत्साहित गरेको थियो। त्यस्तै, क्युसु क्षेत्रमा गएको भूकम्पका कारण कारखाना बन्द हुँदा औद्योगिक उत्पादन र निर्यात प्रभावित भएको थियो। सरकारी सहायता र कम्पनीहरूको लगानी बढे पनि त्यसले अर्थतन्त्रलाई गति दिन सकेन।
क्यापिटल इकोनोमिक्सका मार्सेल थिएलियन्टले आर्थिक वृद्धिसम्बन्धी पछिल्लो तथ्याङ्क अनुमानभन्दा कमजोर र निराशाजनक रहेको बताएका छन्। मुद्रास्फीति बढिरहेकाले जापानको केन्द्रीय बैंकले आगामी डिसेम्बरमा ब्याजदर थप बढाउन सक्ने विश्लेषकहरूको अनुमान छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार सन् २०२७ मा जापान विश्वका ठूला अर्थतन्त्रको सूचीमा छैटौँ स्थानमा झर्नेछ। भारत र जर्मनीले जापानलाई उछिन्ने कोषको अनुमान छ।


