
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
काठमाडौं । तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार ७६० किलोग्राम फूल बिक्री गरेका हुन् ।
स्थानीय किसानले उत्पादन गरेको सयपत्री फूलले बजार पाएपछि उनीहरू उत्साहित भएका छन् । किसानले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजारबाट र आफ्नै बारीबाट फूल बिक्री गरेका थिए । स्थानीयस्तरमै उत्पादन भएको फूल उपभोक्तासम्म पुग्दा किसानलाई आम्दानीको अवसर मिलेको छ भने तिहारमा बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यतामा कमी आएको छ ।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले स्थानीय किसानको उत्पादनले बजार पाएको बताउनुभयो । किसानले उत्पादन गरेको फूल बिक्री हुनु सकारात्मक भएको उल्लेख गर्दै उनले स्थानीय उत्पादनको प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न बजारको पहुँच महत्त्वपूर्ण हुने बताए ।
यस वर्ष फूल बिक्री गर्ने किसानमध्ये मुक्ति सिग्देलले सबैभन्दा बढी ६८५ किलो सयपत्री बिक्री गरेका छन् । त्यस्तै सुदीप रेग्मीले ३८५ किलोग्राम, शान्ति भण्डारीले २०० किलोग्राम, सुरज वाग्लेले १७० किलोग्राम तथा ओमप्रकाश पौडेल, विनोद विश्वकर्मा र चन्द्रकला राईले जनही १५० किलोग्राम फूल बिक्री गरेका छन् ।
त्यसैगरी, महेन्द्रकुमार श्रेष्ठले १२० किलोग्राम, मञ्जु श्रेष्ठले १०५ किलोग्राम र सन्तोष भट्टराईले १०० किलोग्राम फूल बिक्री गरेका छन् ।
स्थानीय किसान सुरज वाग्लेले आफूले उत्पादन गरेको सयपत्री फूलले बजार पाउँदा उत्साहित भएको बताए । स्थानीय उत्पादनले उपभोक्ताको माग पूरा गर्नसके किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए ।
तिहारमा सयपत्री फूलको माग बढी हुने भएकाले किसानका लागि फूलखेती आम्दानीको राम्रो माध्यम बन्दै गएको छ । घर, मठमन्दिर तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा प्रयोग हुने सयपत्री फूलको मागलाई स्थानीय उत्पादनले सम्बोधन गर्न थालेको छ ।


