
मंसिर १० गतेदेखि कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै
काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र अर्थात काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
स्थानीय बासिन्दाहरुले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नछन् । स्थानीय बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ । कम्पनीको खुद वर्तमान मूल्य १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २४.२७ प्रतिशत रहेको छ ।


