
राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा
काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ।
टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम,रासिद खान, लोकेश बम र नन्दन यादव पनि टोलीमा परेका छन्।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन्। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।
भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतियोगितामा आफ्नो ‘ए’ टोली उतार्नेछन्। नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोली खेलाउन सक्नेछन्। यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ।
नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै राइजिङ स्टार्स एसिया कप र एसिया कप दुवैका लागि छनोट भएको थियो। प्रिमियर कपमा दोस्रो भएको यूएई र तेस्रो भएको हङकङले पनि राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएका थिए।


