
कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने
काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले एनपीएलकै ठूलो स्कोर बनाउने क्रममा २२४ रन जोडेको थियो ।
पोखराले दिएको २२५ रनको उच्च लक्ष्य पछ्याएको पोखराले १९. ओभर खेल्दै सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । पोखराका लागि ओपनर साहित पटेलले सर्वाधिक ३४ र रासिद खानले ३१ रन बनाए ।
यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको पोखराले लिग चरणको अन्तिम खेलमा काठमान्डुविरुद्ध कीर्तिमानको वर्षा गर्दै शानदार जित हात पारेर प्रतियोगिता सकाएको हो । पोखराले लिग चरणमा दोस्रो जित निकाल्दै ७ खेलबाट ४ अंक जोड्यो र सातौं स्थानमा लिग सकायो ।
उता काठमान्डुका लागि भने यो हारले क्वालिफायर खेल्ने अभियानमा धक्का लागेको छ । ७ खेलमा ४ जित र ३ हारबाट ८ अंक जोडेको काठमान्डु लिगमा तेस्रो स्थानमा रहँदा अब एलिमिनेटर खेल्नुपर्ने भएको छ । काठमान्डुले क्वालिफायर पुग्नका लागि अब बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ ।
साविक विजेता लुम्बिनी लायन्स ११ अंक जोडेर लिगमा पहिलो र सुदूरपश्चिम रोयल्स १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन् । यो खेल मंगलबार हुनेछ । ठूलो स्कोर पछ्याउने क्रममा ओपनिङमा आएका भीम शार्की टिमको स्कोर १२ रन हुँदा दोस्रो ओभरमै आउट भए । त्यसपछि ओपनर स्मित पटेलले विलियम बोसिस्टोसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे ।
तर पोखराका दीनेश खरेलले पटेललाई आठौं ओभरको अन्तिम बलमा आउट गर्दै साझेदारी तोडे । पटेलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । बोसिस्टो पनि १०औं ओभरमा खरेलकै बलमा आउट भए । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडे । सहान अराचिगे १ रनमा आउट हुँदा काठमान्डुले ८६ रनमा ५ विकेट गुमाएको थियो ।
त्यसपछि रासिद खान र जहानदाद खानले ४४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर जहानदादलाई रमेश मेन्डिसले १५औं ओभरमा आउट गर्दै साझेदारी तोडे । जहानदादले १२ बलमा ३ छक्का प्रहार गर्दै २४ रन जोडे । रासिद खानले २० बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए । त्यसपछि सन्तोष यादव र कप्तान करण केसी खाता नखोली आउट भए । सुमित महर्जन ३ रनमा आउट भए ।
अन्तिम खेलाडीको रुपमा आउट ऐएका सोनु देवकोटाले अन्तिम ओभरमा युवराज सम्रालाई लगातार चार छक्का प्रहार गर्दै २९ रन जोडेर आउट भए । बलिङमा पोखराका दिनेश खरेलले शानदार बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । बिपिन खत्रीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । रमेश मेन्डिस, सन्नी विक र युवराज सम्राले १-१ विकेट लिए ।
त्यसअघि कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । एनपीएलको इतिहासमा यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा विरुद्ध २२० रन बनाएको थियो ।
पोखरा एनपीएलमा एकै सिजन दुई पटक २०० भन्दा माथिको रन बनाउने पहिलो टिम बन्यो । यसअघि कर्णाली याक्स विरुद्ध पोखराले २१७ रन बनाएको थियो । पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट १ रनले मात्र चुके । उनले सर्वाधिक ९९ रन बनाए । ५१ बल खेलेका भुर्तेलले ८ चौका र ८ छक्का प्रहार गरे । ओपनर युवराज सम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्का मद्दतमा ८९ रन बनाए ।
ओपनर अर्जुन कुमाल ५ रन बनाएर तेस्रो ओभरको दोस्रो बलमा आउट भएपछि कुशल भुर्तेल क्रिजमा पुगेका थिए । त्यसपछि ओपनर सम्रा र भुर्तेलले आक्रमक ब्याटिङ गर्दै पोखराको स्कोर २०० कटाएका हुन् ।
कुशल र युवराजले दोस्रो विकेटका लागि एनपीएलको कीर्तिमानी १८६ रनको साझेदारी गरेका थिए । एनपीएलमा यो अहिलेसम्मको ठूलो साझेदारी हो । यसअघि २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्स विरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।
कप्तान चमिका करुणारत्नेले ७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित १९ रन बनाए । धनन्जय लक्षण २ रनमा अविजित रहे । काठमान्डुका कप्तान करण केसीले १९औं ओभरमा कुशल र युवराज दुवैलाई आउट गरेका थिए । कप्तान करणले २ तथा जहानदाद खानले १ विकेट लिए ।


