
एशियन लाइफले कमायो १६ करोड बढी नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नाफा सामान्य बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा यो कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ५.७९ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आम्दानी २२.१६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै कम्पनीको कुल आम्दानी १५.३२ प्रतिशतले वृद्धि भई ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ रहेको थियो । यता कम्पनीको कुल खर्च पनि १८.४३ प्रतिशतले बढेर ३ अर्ब ४६ करोड २४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै अभिकर्ता कमिसन खर्च २०.४९ प्रतिशतले बढेर २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको जीवन बीमा कोष १२.३९ प्रतिशतले वृद्धि भई ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा यस्तो कोष ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, कम्पनीको जगेडा तथा सञ्चित कोषमा पनि सुधार देखिएको छ । विपत्ति कोष ४.९१ प्रतिशतले बढेर ३४ करोड ५० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २७.२६ प्रतिशतले वृद्धि भई ६७ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्षको ११ रुपैयाँ ६२ पैसाबाट बढेर १२ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँमा रहेको छ ।


