
मधेशका मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन् । बैठकको कार्यसूची तय गर्न शनिबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख यादवले जानकारी दिएका छन् ।
सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन् ।
विश्वासको मतका लागि आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा जुटेका छन् । मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने उनले बताएका छन् ।
नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत २५ असोजमा सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि २० कात्तिकमा राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । सरकारको निरन्तरताका लागि मुख्यमन्त्री यादवले विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने प्रयास गरिरहेका छन् ।
एक सय सात सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
प्रदेशसभाको अंकगणितअनुसार कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन आवश्यक देखिन्छ । यस्तो अवस्थामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र अन्य साना दलको भूमिका निर्णायक हुने देखिएको छ ।


