
मन्त्रीको पोसाक विवादपछि लाक्पा फुटीले सिकाइन् लगाउने सही तरिका
चितवन । टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हिमाल र जलवायु परिवर्तनको सन्देश दिन लगाएको शेर्पा समुदायको परम्परागत पोसाक उल्टो परेपछि उनी अहिले सामाजिक सञ्जालमा ट्रोल बनेकी छन्।
आफ्नो देशको एक समुदायको परम्परागत पोसाक लगाउँदा सोही समुदायका जानकारसँग परामर्श नगरी पछाडि पार्नुपर्ने बख्खुको मुजा अगाडि पारेपछि उनी आलोचित बनेकी हुन्। मन्त्री चौधरीले लगाएको बख्खु उल्टो देखिएको विषयमा पर्वतारोही, लेखक तथा नेपाल माउन्टेन एकेडेमीकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पाले नेपाल प्रेससँग शेर्पा महिलाले बख्खु लगाउने सही तरिकाबारे यसरी प्रस्ट पारेकी छन्:
‘मन्त्रीज्यूले लगाउनुभएको बख्खु माथिबाट हेर्दा सुल्टो नै देखिन्छ। नजान्ने मान्छेले झट्ट हेर्दा उल्टो जस्तो लाग्दैन। सुरुमा मैले पनि ‘माथि त सुल्टै छ, के भनेका होलान्’ भन्ठानेकी थिएँ। तर, पछि राम्ररी नियालेर हेर्दा तलको भाग उल्टो लगाउनुभएको रहेछ।
बख्खुको मुजा तल गएर पछाडिपट्टि घुम्नुपर्छ, कहिल्यै अगाडि हुँदैन। त्यसमा पटुका बाँधेर कस्नुपर्छ। तर, मन्त्रीज्यूले पछाडि लैजानुपर्ने दुवैतिरको मुजा अगाडि ल्याएर बाँध्नुभएको फोटोमा देखिन्छ। पाङ्देनमुनि मुजा देखिएको छ। उहाँले नजानेर त्यस्तो लगाउनुभएको हो। जसरी साडी लगाउँदा अगाडि पार्नुपर्ने मुजा पछाडि पारियो भने उल्टो देखिन्छ, बख्खुमा पनि पछाडि पार्नुपर्ने मुजा अगाडि पारिदिँदा ठ्याक्कै त्यस्तै उल्टो भयो।
नेपालीमा ‘बख्खु’ भनिने यो पूरा पोसाकमा शेर्पा भाषाअनुसार ‘वोङ्जु’ लगाएपछि माथि लगाइने पहिरनलाई ‘एङ्गी’ भनिन्छ। मन्त्रीज्यूले बख्खुको अगाडिपट्टि पहेँलो, रातो र गुलाबी रङको बुट्टेदार कपडा बाँध्नुभएको छ, जसलाई ‘पाङ्देन’ भनिन्छ। पाङ्देन विवाहित महिलाले मात्र लगाउँछन्, अविवाहित युवतीले लगाउँदैनन्।
त्यसैगरी, बख्खुसँगै पछाडिपट्टि बाँध्ने अर्को ऊनीको बाक्लो कपडा हुन्छ, जसलाई ‘ग्याप्टिल’ भनिन्छ। यो प्रायः धेरै जाडो हुने हिमाली भेगमा लगाइन्छ। काठमाडौँजस्ता ठाउँमा सामान्यतया नलगाइने भए पनि सांस्कृतिक कार्यक्रमहरूमा भने लगाउने गरिन्छ।’


