
इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश
काठमाडौं । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो ।
मुख्य न्यायाधीश सरफराज डोगरको नेतृत्वमा रहेको दुई सदस्यीय इजलासले १९ करोड पाउन्डको अल कादिर ट्रस्ट प्रकरणमा सुनाइएको सजायविरुद्ध दायर पुनरावेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
सुनुवाइका क्रममा अदालतले इमरान खानका वकिल सलमान सफदरलाई कानुनअनुसार भेटघाटको अनुमति दिएको बताएको थियो । तर पछि थप पाँच जनालाई पनि इमरानसँग भेट्न दिनुपर्ने माग नआओस् भन्दै अदालतले सचेत गराएको थियो । इजलासका प्रमुखले केही दिनअघि मात्रै इमरान खान र बुशरा बीबीसँग भेटिसकेको अवस्थामा फेरि किन भेट्न चाहेको भन्दै सलमान सफदरलाई प्रश्न गरेका थिए ।
जवाफमा सफदरले अघिल्लो भेटमा पर्याप्त समय नपुगेकाले आफ्ना पक्षसँग पुनः भेट्न आवश्यक रहेको बताएका थिए ।
अदालतले सुरुमा बुशरा बीबी र इमरान खानसँग उनका वकिल सरदार लतिफ खोसालाई भेट्न अनुमति दिएको थियो । त्यसपछि सलमान सफदरलाई पनि इमरान खानसँग भेट्न अनुमति दिइएको हो । सुनुवाइका क्रममा बुशरा बीबीको स्वास्थ्य अवस्थाको विषयसमेत उठेको थियो । सलमान सफदरले बुशराले आफूलाई दिएको जानकारी उद्धृत गर्दै छ महिनाअघि जेल प्रशासनले शल्यक्रियाका लागि अस्पताल लगेको र आगामी नोभेम्बर १५ मा पुनः शल्यक्रिया गर्नुपर्ने बताएको जानकारी अदालतलाई गराएका थिए ।
उनले बुशरा बीबीको स्वास्थ्य परीक्षणका लागि मेडिकल बोर्ड गठन गर्न माग गरेका थिए । सर्वोच्च अदालतमा समेत जेल प्रशासनले बुशराको आँखामा समस्या रहेको स्वीकार गरेको उनको भनाइ थियो ।


