
सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो पुल
मोरङ । मोरङको रतुवामाई नगरपालिकामा कटनुखोला पुल निर्माण सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको छ । रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकअन्तर्गत पुल निर्माण सम्पन्न भएको हो ।
पूर्वाधार विकास कार्यालय मोरङमार्फत ६ करोड ५३ लाख १७ हजार रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो । थानी–लेखराज–बूढाथोकी जेभीले निर्माण गरेको पुल २५ मिटर लामो छ । १७ मिटर गहिरो पाइल फाउन्डेसनमा आधारित पुलमा ६ मिटरको क्यारिजवे र दुवैतर्फ १.२ मिटरका फुटपाथ छन् ।
कोशी प्रदेशका पूर्वाधार विकासमन्त्री जीवन आचार्यले निर्धारित समयभन्दा अगाडि गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनी र स्थानीयको सहकार्यको प्रशंसा गरे । उनले प्रदेशमा वर्षौंदेखि अधुरा रहेका योजनालाई गति दिन सरकार लागिरहेको बताए ।


