
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासङ्घको आग्रह
काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । महासङ्घकी अध्यक्ष निर्मला शर्माका नेतृत्वमा पदाधिकारी, सल्लाहकार र केन्द्रीय सदस्यसहितको टोलीले आज राष्ट्रपतिसँग भेटेर अध्यादेशमा भएका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावका विषयमा ध्यानाकर्षण गराएको हो ।
टोलीले सरोकारवाला पक्षसँग प्रर्याप्त छलफल र परामर्श नगरिकन संसद्लाई छलेर अध्यादेशमार्फत कानून ल्याइनु लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने राष्ट्रपतिसमक्ष जानकारी गराएको महासङ्घका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारमाथि धरपकड गरेकोबारे स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही नगर्दै सरकारले अध्यादेश ल्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावित बनाएको महासङ्घकाे भनाइ छ । महासङ्घले संवैधानिक मर्मअनुसार आफ्नो विवेक प्रयोग गरिदिनुहुन राष्ट्रपतिसमक्ष आग्रह गरेको छ ।


