
डिभोर्सको चर्चामा ब्रेक लगाउँदै रोमान्टिक पोजमा देखिए अभिषेक र ऐश्वर्या
काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चन लामो समयपछि एकसाथ सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनीहरू बिहीबार राति मुम्बईमा फेसन डिजाइनर मनीष मल्होत्राले आयोजना गरेको दीपावली पार्टीमा सँगै पुगेका हुन् ।
लामो समयदेखि यी दुईको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । उनीहरुबीच डिभोर्स हुन लागेको खबर पटक पटक सञ्चारमाध्यममा आउने गर्थे । तर पछिल्लो घटनामा सम्बन्धमा नयाँ ट्वीस्ट आएको सङ्केत गरेको छ ।
पार्टीमा ऐश्वर्या र अभिषेक हात समातेर पुगेका थिए । उनीहरूले कार्यक्रमस्थलबाहिर सञ्चारकर्मी तथा फोटोग्राफरका लागि सँगै तस्बिर खिचाए । तस्बिर खिचाउने क्रममा अभिषेकले ऐश्वर्याको हात समातिरहेका थिए भने दुवैले एकअर्कालाई हेर्दै मुस्कुराएका थिए ।
फोटोग्राफरहरूले छुट्टाछुट्टै तस्बिर खिचाउन आग्रह गर्दा उनीहरूले सँगै तस्बिर खिचाउने निर्णय गरे । तस्बिर खिचाउने क्रममा अभिषेकले ऐश्वर्यालाई नजिक तानेका थिए । एउटा भिडियोमा ऐश्वर्याले अभिषेकको छातीमा टाउको अड्याएको पनि देखिएको छ ।
यसपटक ऐश्वर्या रातो रङको सुनौलो बुट्टा भएको साडीमा देखिएकी थिइन् । उनले सुनका गहना र परम्परागत शृंगार गरेकी थिइन् । अभिषेक भने कालो रङको परम्परागत पहिरनमा थिए ।
मनीष मल्होत्राको उक्त दीपावली पार्टीमा बलिउडका थुप्रै चर्चित कलाकार सहभागी भएका थिए । अक्षय कुमार पत्नी ट्विंकल खन्ना र छोरा आरवसँग पुगेका थिए ।
त्यस्तै करिना कपुर र सैफ अली खान, माधुरी दीक्षित, काजोल, करण जोहर, विक्की कौशललगायत कलाकार पनि कार्यक्रममा सहभागी थिए ।
सन् २००७ अप्रिल २० मा विवाह गरेका ऐश्वर्या र अभिषेककी एक छोरी आराध्या छन् । विवाहको केही समयमै यो जोडीको सम्बन्धमा दरार सुरु भएको थियो ।
अभिषेककी आमा जया बच्चनसँग ऐश्वर्याको सम्बन्ध तिक्ततापूर्ण रहेको बताउने गरिएको छ । केही समयअघि ऐश्वर्याले बच्चन निवास नै त्यागेकी थिइन् ।


