
साधारणसभा आह्वान गरेको स्वाभिमान लघुवित्तको बुक क्लोज कहिले ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभाका लागि कात्तिक २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यो अनुसार कात्तिक १९ गते भन्दा अघि नेप्सेमा कारोबार भएका सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् । कम्पनीले विभिन्न प्रस्तावहरु पारित गर्नका लागि आगामी मंसिर १४ गतेका लागि १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको वार्षिक साधारण सभा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित द एसआर होटलमा बिहान ११ बजे बस्नेछ ।
सभामा हाल कायम १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँ चुक्ता पुँजीलाई आधार बनाएर १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावमाथि छलफल गरी पारित गर्ने छ । प्रस्ताव पारित भएमा योग्य सेयरधनीले आफ्नो स्वामित्वमा रहेको प्रत्येक एक कित्ता सेयर बराबर थप एक कित्ता हकप्रद सेयर पाउने व्यवस्था हुनेछ । यद्यपि, सेयर निष्कासनका लागि सम्बन्धित निकायको स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
हकप्रद सेयर जारी गर्ने प्रस्तावसँगै संस्थाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विषयसमेत छलफलको कार्यसूचीमा राखिएको छ ।
त्यसैगरी, अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका वित्तीय संस्थासँग गाभिने वा कुनै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । नियामक निकायबाट संशोधनसम्बन्धी प्रस्तावमा परिवर्तन गर्न निर्देशन आएमा आवश्यक परिमार्जन गर्न सक्ने अख्तियारीसमेत सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव राखिएको छ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही अवधिको लेखापरीक्षणसहितको वित्तीय विवरण स्वीकृत गर्ने तथा आगामी लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने विषय पनि समावेश छन् ।


