
नेसनल प्याब्सनको विधान संशोधन र संगठनात्मक एकतामा जोड
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले संस्थाको विधान संशोधन, कानुनी सुदृढीकरण र संगठनात्मक एकतालाई प्राथमिकतामा राख्दै श्वेतपत्र जारी गरेको छ। संस्थाको कानुनी वैधतालाई थप मजबुत बनाउने, विधानलाई समयसापेक्ष परिमार्जन गर्ने तथा संगठनभित्र देखिएका मतभेद समाधान गरी एकता कायम गर्ने उद्देश्यले श्वेतपत्र जारी गरिएको हो।
श्वेतपत्रमा नेपाल सरकार, गृह मन्त्रालय २०८२ मंसिर १२ गतेको निर्देशन र सोही मन्त्रालयको पुनः २०८३ साल असार ३० गतेको निर्देशनअनुसार संस्थाको विधान संशोधन तथा नियमितीकरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। सोहीअनुसार केन्द्रीय समितिले तयार पारेको विधानको पाँचौँ संशोधन प्रस्तावलाई अन्तिम रूप दिई पारित गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख छ।संस्थाको श्वेतपत्रअनुसार विधानको दफा २०.१ मा रहेको व्यवस्थाबमोजिम विशेष अधिवेशन आह्वान गरिएको छ। उक्त अधिवेशनबारे सदस्यहरूलाई जानकारी गराउन सार्वजनिक सूचनासमेत प्रकाशित गरिएको श्वेतपत्रमा उल्लेख छ।
नेसनल प्याब्सनले संगठनात्मक एकतालाई संस्थाको मुख्य शक्ति भन्दै केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका समितिहरूलाई संस्थाको बृहत्तर हितका लागि एकजुट हुन आह्वान गरेको छ। आन्तरिक मतभेदलाई आपसी संवाद, सहकार्य र लोकतान्त्रिक विधिबाट समाधान गर्दै संस्थालाई थप एकताबद्ध बनाउने प्रतिबद्धता पनि श्वेतपत्रमा व्यक्त गरिएको छ। त्यसैगरी, विधान संशोधनपछि संस्थाको आर्थिक, प्रशासनिक तथा संगठनात्मक कार्यप्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। यसले निजी शिक्षा क्षेत्रमा देखिएका समसामयिक चुनौती, शिक्षा ऐन तथा स्थानीय सरकारका नीतिगत विषयमा संस्थाको नेतृत्वलाई थप प्रभावकारी रूपमा प्रस्तुत हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
श्वेतपत्रमार्फत नेसनल प्याब्सनले आगामी २०८३ असोज १४ र १५ गते चितवनको सौराहास्थित युनिक वाइल्ड रिसोर्टमा आयोजना हुने विशेष अधिवेशनमा सहभागी हुन केन्द्रीय पदाधिकारी, सदस्य तथा सदस्य विद्यालयका प्रतिनिधिहरूलाई आग्रह गरेको छ। संस्थाको कानुनी आधार बलियो बनाउँदै संगठनात्मक एकता कायम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै श्वेतपत्रमा ‘नेसनल प्याब्सनको एकता आजको आवश्यकता’ भन्ने नारासमेत अघि सारिएको छ।


