
फूलखेती आम्दानीको मुख्य स्रोत
दाङ। दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् ।
यति बेला दाङका विभिन्न फूलखेती गरेका स्थानमा सयपत्रि फूल ढकमक्क फुलिसकेका छन् । गढवा गाउँपालिका–३, खैरेनीका टेकेन्द्रराज रावतले विगत चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन् ।
आइएससी कृषि सङ्कायअन्तर्गत वनस्पति विज्ञान अध्ययन गरेका उनले व्यावसायिक रूपमा फूलको खेती गर्दै आएका हुन् । उनले चाडपर्वलाई ध्यानमा राखी सयपत्री फूलको व्यावसायिक खेती थालेका थिए । अहिले उनको फूलखेती १० कठ्ठा जग्गामा फैलिएको छ ।
‘पहिलो वर्ष परीक्षणका रूपमा खेती गरेँ । त्यसले राम्रो नतिजा दियो, त्यसपछि नियमित रूपमा खेती गर्दै आएको छु’, उनले भने, ‘यो वर्ष तिहार अगाडि रु २०/२५ हजारको फूल र माला बिक्री गरिसकेको छु ।’
यो व्यावसायबाट राम्रो आम्दानी पनि हुँदै गएको उनले बताए । चाडपर्वका बेला छिमेकी देश भारतबाट फूल नेपाल आयात हुने गर्छ । त्यसलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ । ‘धान, गहुँ लगाउनुभन्दा फूलखेती सजिलो, मल र बीउमा धेरै खर्च नहुने रहेछ । लगानीअनुसार धान, गहुँले मूल्य पाउँदैन, फूलले राम्रो मूल्य पाउँछ’, उनले अनुभव सुनाए ।
उनले वार्षिक रूपमा रु दुईदेखि तीन लाखसम्म बचत गरिरहेका छन् । अहिले फूललाई रु २५० देखि ३०० सम्ममा र एउटा मालालाई रु ४०० का दरले बिक्री गर्दै आएको बताउँछन् ।
किसान रावतले अरुको देशमा गएर दुःख गर्नु भन्दा आफ्नै देशमा केही गर्न आवश्यक रहेको बताए । ‘गत वर्ष राम्रो आम्दानी भयो फूलखेतीबाट, यसवर्ष पनि तिहार आउनुभन्दा अघि बाटनै फूल माला बिक्री गर्दै आएको छु,’ उनले भने ।
फूलमा आत्मनिर्भर हुने गरी पुष्प कृषक प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताए । उनले सयपत्री फूलखेतीसँगै विभिन्न तरकारीखेती र तरकारीका बेर्ना पनि उत्पादन गरेर बिक्री गर्दै आएका छन् । दाङ जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या पछिल्ला वर्षमा बढ्दै गएको छ ।
जिल्लाका १० वटै स्थानीय तहमा फूलखेती गर्ने किसान रहेका छन् । प्रोत्साहनका लागि स्थानीय सरकारले भूमिका बढाउनुपर्ने देखिन्छ ।


