
म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल
म्याग्दी । बेनी नगरपालिका-३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँची खेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँची खेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । बेनी नगरपालिका-३ का वडाध्यक्ष पदम पुनले चार खोलाको ओसे पिलो उत्तिसको जङ्गलभित्र लगाएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानहरूले पनि विस्तार गर्न थालेका जानकारी दिएका छन् ।
अध्यक्ष पुनका अनुसार अनुकूल हावापानी, भूगोल, बजार र उचित मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाडी फाँडेर २० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा अलैँची लगाएको हो । यस ठाउँमा ५० वर्षअघि पहिरोले खेतीयोग्य जमिन मासिएपछि पछिल्लो समय झाडीमा परिणत भएको थियो ।
पूर्वी नेपालको कोशी प्रदेशको पहाडी जिल्लामा खेती हुँदै आएको अलैँचीलाई ‘कालो सुन’ भन्ने गरिन्छ । कृषि विधिकका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ८०० मिटर उचाइको ओसिलो ठाउँमा अलैँची खेती राम्रो हुन्छ । वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिलिटर वर्षा हुने ठाउँमा अलैँची खेती उपयुक्त मानिन्छ । अलैँची खेतीका लागि शीतोष्ण आद्रता भएको जलवायु चाहिन्छ ।
बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाका अनुसार नेपालमा राम शाही, गोलशाही र डम्मर शाही जातको अलैँची खेती हुने गरेको छ ।


