
फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दा १२०० पक्राउ, १५० प्रहरी घाइते
काठमाडौं । फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्। फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन्।
पेरिसमा साँझसम्म प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच झडप भएको थियो। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। राजधानीसहित विभिन्न स्थानमा भवन र सवारीसाधनमा आगजनी गरिएको छ। लिमोज सहरको नगर भवनमा लागेको ठूलो आगोका कारण भवनको छानाको केही भाग भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्। लियोनमा पर्यटकीय सूचना केन्द्रमा समेत आगजनी भएको छ। लियोनका मेयर ग्रेगोरी डुसेले पर्यटकीय सूचना केन्द्रमा भएको आगजनीलाई सहरका लागि दुःखद घटना भनेका छन्। ऐतिहासिक तथा प्रसिद्ध भवनमा आगजनी हुनु सहरका लागि ठूलो क्षति भएको उनले फ्रान्सेली सञ्चारमाध्यम बीएफएम टीभीसँग बताएका छन्।
स्थानीय प्रहरीले भने आगो नियन्त्रण गर्न पुगेका अग्निनियन्त्रकलाई केही व्यक्तिले सुरक्षित रूपमा काम गर्न नदिएको जनाएको छ। दक्षिणपूर्वी सहर सेन्ट–इटियनका मेयर रेजिस जुआनिकोका अनुसार प्रदर्शनका क्रममा एक युवकको हात ग्रिनेड विस्फोटमा परेर चुँडिएको थियो। ‘यस्तो दुःखद घटना कहिल्यै हुनु हुँदैनथ्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। प्रदर्शनमा सहभागी केही युवाले आफूहरू शान्तिपूर्ण परिवर्तनको पक्षमा रहेको बताएका थिए। तर साँझ पर्दै जाँदा केही समूहले सडकमा आगो लगाउने, गाडी जलाउने र पसल तोडफोड गर्ने गतिविधि गरेका थिए।
फ्रान्सको आन्तरिक मन्त्रालयले पेरिस, मार्से, रेनेस, टुलुज र आन्जेसहित विभिन्न सहरमा मुख छोपेका व्यक्तिहरूबाट लक्षित हिंसात्मक गतिविधि भएको जनाएको छ। ग्रेनोबल, एभिन्योन, पाउ, मोन्टपेलियर र भालेन्समा पनि भवनमा क्षति पुगेको खबर छ। पेरिसमा कपडा तथा खाद्यान्न पसलहरूमा लुटपाट भएको छ। लिले सहरमा एप्पलको एउटा पसल तोडफोड गरी सामान लुटिएको छ। राजधानीको प्लास द ला रिपब्लिकजस्ता प्रसिद्ध स्थानमा समेत सवारीसाधन जलाइएको थियो।
बीबीसीका अनुसार शनिबार दिउँसो पेरिसमा भएको मुख्य जुलुस सुरुमा शान्तिपूर्ण देखिएको थियो। प्रदर्शनमा सहभागी केही युवाले आफूहरू शान्तिपूर्ण परिवर्तनको पक्षमा रहेको बताएका थिए। तर साँझ पर्दै जाँदा केही समूहले सडकमा आगो लगाउने, गाडी जलाउने र पसल तोडफोड गर्ने गतिविधि गरेका थिए। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रहरीमाथि अत्यन्त तीव्र हिंसा भएको बताएका छन्। प्रदर्शनलाई राष्ट्रपति निर्वाचनको तयारीका रूपमा प्रयोग गर्न खोजिएको उनको आरोप छ। ‘कसैले पनि हिंसाका माध्यमबाट आफ्नो राजनीतिक एजेन्डा थोपर्न पाउने छैन,’ उनले भनेका छन्। राष्ट्रपति इमानुएल म्याक्रोंले सरकारी कार्यालय, व्यवसाय र नगर भवनमा आक्रमण तथा लुटपाट गर्नेहरूलाई कानुनी कारबाही गरिने बताएका छन्।
विद्यालयको अवस्था र महँगीविरुद्ध आन्दोलन
फ्रान्समा पछिल्ला केही सातादेखि माध्यमिक विद्यालयमा कर्मचारी अभाव र भौतिक संरचनाको कमजोर अवस्थाविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन्। फ्रान्समा १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी पढ्ने विद्यालयलाई ‘लिसे’ भनिन्छ। शनिबारको प्रदर्शनमा विद्यार्थीका साथै ट्रेड युनियन र अन्य आन्दोलनरत समूह पनि सहभागी भएका थिए। सन् २०१८ देखि महँगीविरुद्ध आन्दोलन गर्दै आएको ‘येलो भेस्ट’ समूहका सदस्यसमेत प्रदर्शनमा सहभागी भएका थिए।
फ्रान्सेली सरकारले आन्दोलन मत्थर पार्ने प्रयासस्वरूप शिक्षा क्षेत्रमा थप ३ हजार अस्थायी शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। शिक्षामन्त्री एडुवार्ड गेफ्रेले अक्टोबर ८ मा टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त प्रतिबद्धता जनाएका थिए। तर त्यसपछि पनि प्रदर्शन रोकिएको छैन, बरु झन् तीव्र बनेको छ।
राष्ट्रपति निर्वाचनको छायामा प्रदर्शन
फ्रान्समा राजनीतिक अनिश्चितता बढिरहेका बेला प्रदर्शन हिंसात्मक बनेको हो। राष्ट्रपति म्याक्रोंको कार्यकाल आगामी वर्ष सकिँदै छ। सर्वेक्षणहरूले आगामी अप्रिलमा हुने राष्ट्रपति निर्वाचनमा नेसनल ¥यालीकी नेतृ मरिन ले पेन र वामपन्थी दल ला फ्रान्स इन्सुमिसका नेता जिन–लुक मेलाँसोंबीच प्रतिस्पर्धा हुन सक्ने संकेत गरेका छन्। प्रदर्शनमा सहभागी मेलाँसोंले प्रहरीमाथि प्रदर्शनकारीविरुद्ध अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्। यद्यपि उनले लुटपाट र आगजनीको निन्दा गरेका छन्।
प्रधानमन्त्री लेकोर्नुले भने मेलाँसोंको अभिव्यक्तिलाई ‘खतरनाक र अवसरवादी’ टिप्पणी भनेका छन्। ले पेनले प्रदर्शनकारीका जायज मागलाई अतिवामपन्थी समूहले बन्धक बनाएको आरोप लगाउँदै हिंसा भड्काउन मेलाँसोंको भूमिका रहेको दाबी गरेकी छन्। विद्यालयको कमजोर अवस्था र महँगीविरुद्ध सुरु भएको आन्दोलनमा राजनीतिक समूहहरूको सहभागिता बढेसँगै फ्रान्समा सार्वजनिक सुरक्षा र आगामी निर्वाचनको वातावरणबारे चिन्ता थपिएको छ।


