
सलिकोद्वारा रसुवा बाढी प्रभावित क्षेत्रमा २६ करोडभन्दा बढीको बीमा दाबी भुक्तानी
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा दुई महिना नपुग्दै बीमा दायित्वअन्तर्गत कुल २६ करोड ९ लाख २२ हजार २३४.७५ रूपैयाँ भुक्तानी गरेको छ। असोज २९ गतेसम्मको विवरणअनुसार कम्पनीले उक्त रकम भुक्तानी गरेको हो।
प्रभावित क्षेत्रका बीमितहरूलाई आर्थिक राहत प्रदान गर्ने तथा क्षतिको आर्थिक भार न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले कम्पनीले हालसम्म २३ करोड ५ लाख ३९ हजार७८२.७५ रूपैयाँ अग्रिम भुक्तानी गरिसकेको छ भने ३ करोड ३ लाख ८२ हजार ४५२ रूपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।
दाबी भुक्तानी प्रक्रियालाई थप सहज, प्रभावकारी र छिटो बनाउन कम्पनीले सम्बन्धित बीमित तथा सेवाग्राहीहरूलाई आवश्यक कागजात यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको छ। आवश्यक कागजात समयमै प्राप्त भएमा दाबी मूल्यांकन तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ।
प्राकृतिक विपद्का कारण व्यवसाय, सम्पत्ति तथा जनजीवनमा पर्न सक्ने आर्थिक प्रभावलाई न्यूनीकरण गर्न बीमा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहन्छ। यसै सन्दर्भमा सलिकोले प्रभावित बीमितहरूलाई आर्थिक सहायता उपलब्ध गराउँदै बीमाप्रतिको विश्वासलाई थप सुदृढ बनाउने प्रतिबद्धताका साथ आफ्नो दायित्व निर्वाह गर्दै आएको छ।
सलिकोले विपद्का कठिन परिस्थितिमा बीमित तथा समुदायसँगै उभिँदै आर्थिक सुरक्षा प्रदान गर्नुका साथै पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले कार्य गर्दै आइरहेको छ।


