
राष्ट्र बैंकले करिब २५ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषहरूमा रहेको कुल २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभागले एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदर प्रस्ताव आह्वान गरेको हो ।
उक्त रकम आगामी २०८३ कात्तिक १६ गतेदेखि ३६६ दिन (१ वर्ष) का लागि मुद्दती निक्षेपका रूपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कुल लगानीयोग्य रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागिः १९ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूका लागिः ३ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागिः १ अर्ब २४ करोड १८ लाख रुपैयाँ छुट्याएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर खुलाएर सिलबन्दी फाराम भरी ‘पासवर्ड प्रोटेक्टेड’ पीडीएफ फम्र्याटमा आवेदन दिनुपर्नेछ । आवेदन आगामी २०८३ कात्तिक १० गते राति १२ः०० बजेभित्र राष्ट्र बैंकको इमेलमा पठाइसक्नुपर्नेछ भने सो फाइलको पासवर्ड कात्तिक ११ गते राति १२ः०० बजेभित्र सोही इमेलमा पठाउनुपर्ने सूचनामा उल्लेख छ । आवेदन पठाउँदा आधिकारिक संस्थागत इमेलबाट मात्र पठाउनुपर्नेछ; जीमेल, याहू, हटमेल जस्ता व्यक्तिगत इमेल मान्य हुने छैनन् ।


